उपेन्द्र बाराबाट चुनाव लड्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको छ ।आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न उसले स्थानीय समितिलाई परिपत्र गरेको हो ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार परिपत्र गर्दै ‘प्रदेश, जिल्ला र क्षेत्र समितिलाई उम्मेदवार सिफारिस गर्न’ भनेका छन् । क्षेत्रीय समितिले जिल्ला कमिटीलाई र जिल्ला समितिले प्रदेश समितिलाई उम्मेदवार छनोट गरी प्रदेश समितिले केन्द्रीय समितिलाई उम्मेदवारको नामावली बुझाउन भनिएको छ ।

१९ देखि २१ भदौसम्म प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति बैठकबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सहमति भए एक जना, अन्यथा एक महिलासहित अधिकतम तीन उम्मेदवार सिफारिस गर्न भनिएको छ । प्रदेशसभा उम्मेदवारसमेत सिफारिस गर्न क्षेत्रीय समितिलाई भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति बैठकबाट सिफारिस गरिएका उम्मेदवारको नामावली २१ भदौमा जिल्ला समितिमा र २२ भदौमा जिल्ला समिति बैठक बसेर २३ भदौमा सम्बन्धित प्रदेश समितिमा पठाउन भनिएको छ । प्रदेश समितिले २५ भदौसम्ममा केन्द्रीय कार्यसमितिमा पठाउन परिपत्रमा उल्लेख छ ।

‘प्रत्यक्ष एवं समानुपातिकतर्फका नाम सिफारिस गर्दा उम्मेदवारको छोटकरीमा पृष्ठभूमिसहित सिफारिस गर्ने’ ठाकुरद्वारा जारी परिपत्रमा उल्लेख छ ।

उपेन्द्र बारा २ र ३ बाट सिफारिस
जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव बारा २ र बारा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । जसपा बारा क्षेत्र २ र ३ समितिको बसेको छुट्टाछुट्टै बैठकले यादवको नामसमेत सिफारिस गरेको हो ।

बारा २ बाट यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि सो क्षेत्रबाट सिफारिस गरिएको छ । बारा २ मा यसअघि रामसहायले जितेका थिए । गत निर्वाचनमा उपेन्द्र भने सप्तरी २ बाट निर्वाचित भएका हुन् । सो क्षेत्रबाट जनमत पार्टी अध्यक्ष डा. सिके राउतले चुनाव लड्ने तयारी गरेका छन् ।

सो पार्टीले निर्णयसमेत गरेर राउतलाई सो क्षेत्रबाट उठाउने घोषणा गरेको छ । स्थानीय तह निर्वाचनमा सो क्षेत्रमा जसपाले राम्रो मत ल्याउन नसकेका कारण उपेन्द्र नयाँ निर्वाचन क्षेत्र खोजिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा जसपाले सदरमुकाम राजविराज नगरपालिका मात्रै जितेको छ । राउतको घर भएको महादेवा गाउँपालिका–२ मा जनमत पार्टीका उम्मेदवार विजयी भएको थियो । उनको गृहपालिकामा भने लोकतान्त्रिक समाजावादी पार्टी विजयी भएको छ ।

छिन्नमस्ता गाउँपालिकामा पनि लोसपाले नै जितेको छ । अर्को पालिका तिलाठी–कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । सप्तरी २ बाट उपेन्द्रलाई २०७९ को निर्वाचनमा विजयी हुन कठिन हुने भएकाले उनी बारा २ वा ३ बाट उम्मेदवार हुने सम्भावना बढी रहेको जसपा स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *