चितवनमा चुनावी सरगर्मी : पुरानो अनुहारका ‘हेभिवेट’ उम्मेदवारको प्रतिस्पर्धा

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला हो चितवन । चितवनमा पछिल्लो समय चुनावी सरगर्मी बढिरहेको छ । उम्मेदवार बन्ने आकांक्षा राख्नेहरू आफ्नो चुनावी क्षेत्रमा खटिन सुरु गरिसकेका छन् । पछिल्लो समय नेताहरू चुनावलक्षित कार्यक्रमहरूमा सहभागी हुने क्रम बढिरहेको छ ।

चितवनमा तीनवटा क्षेत्र रहेको छ । क्षेत्र नम्बर १ मा तीन नगरपालिका पर्छन् । रत्ननगर, खैरहनी र राप्ती नगरपालिका मिलेर बनेको क्षेत्र नं १ मा २०७४ को चुनावमा तत्कालीन नेकपाबाट सुरेन्द्र पाण्डे निर्वाचित भएका थिए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेता पाण्डेले तत्कालीन समयमा नेपाली कांग्रेसका प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका थिए ।

पाण्डेले ५० हजार ८ सय ९६ मत ल्याउँदा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । २०७४ मा पाण्डे र बुर्लाकोटीको फेरि चुनावी भेट हुँदा पाण्डे निर्वाचित भए ।

चितवन १ बाट दुई पटक निर्वाचित भइसकेका पाण्डे यतिबेला आफ्नो क्षेत्रका मतदातामाझ विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । उनले चितवन १ बाट आफ्नो उम्मेदवारी फेरि रहने सङ्केत गरिसकेका छन् । केही दिनअघि पत्रकारमाझ नेता पाण्डेले पुरानो आफ्नै क्षेत्र चितवन १ बाट उठ्ने बताएका थिए ।

एमाले चितवनले उम्मेदवार छनोट पक्रियामा हतार गर्ने बेला आइनसकेको जनाएको छ । उपाध्यक्ष पाण्डे एक हप्ता आफ्नो क्षेत्रका विभिन्न कार्यक्रममा सरिक भएर सोमबार मात्र काठमाडौँ गएका छन् । चितवन पोस्टसँगको कुराकानीमा नेता पाण्डेले भने, ‘म आफ्नो क्षेत्रमा विभिन्न घरदैलोलगायत अन्य कार्यक्रमहरूमा एक हप्ता सरिक भएँ, सोमबार काठमाडौँ आइपुगेँ । फेरि भदौ १२ पछि मेरो क्षेत्रका जनतामाझ नै म हुनेछु, विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछु ।’

चुनावी घोषणासँगै आफ्नो क्षेत्रमा नेता पाण्डेले सक्रियता बढाएसँगै सो क्षेत्रमा फेरि पुरानै अनुहार दोहोरिने सम्भावना देखिन्छ । यद्यपि, पार्टीले उम्मेदवार छनोट नगर्दासम्म भन्न सकिने अवस्था रहँदैन । चितवन क्षेत्र नं २ मा पनि चुनावी सरगर्मी बढिरहेको छ । चितवन २ मा २०७४ को चुनावमा तत्कालीन नेकपाबाट कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले कांग्रेसका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरेका हुन् । पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत ल्याएका थिए । पोखरेलले चितवन क्षेत्र नम्बर २ मा अहिले पनि दाबी गर्दै आइरहेका छन् ।

उनी पनि नेता सुरेन्द्र पाण्डेजसरी आफ्नो क्षेत्रमा भएका विभिन्न कार्यक्रमहरूमा सरिक भइरहेका छन् । उनले भने, ‘म आफ्नो क्षेत्रका हरेक घरमा पुगेको छु, जनताका हरेक समस्यामा जुधेको छु ।’ पोखरेलले चितवन क्षेत्र नम्बर–२ मा एमाले एक्लैले जित्ने दाबी पनि गरे । उनले भने, ‘पाँच दलीय गठबन्धनको भन्दा एमाले एक्लैको भोट बढी छ, म जुनसुकै बेला चितवन क्षेत्र नं २ को जनतासँगै रहेको छु ।’

चितवन क्षेत्र नं ३ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने पक्का भएको छ । उनले पत्रकारमाझ चितवन क्षेत्र नं ३ बाट उठ्ने घोषणासमेत गरिसकेका छन् । २०७४ को चुनावमा सोही क्षेत्रबाट अध्यक्ष प्रचण्ड तत्कालीन नेकपाको उम्मेदवार बनेर विजयी भएका थिए ।

२०७४ मा अध्यक्ष प्रचण्डले राप्रपाका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । प्रचण्डले ४६ हजार २६९ मत ल्याउँदा पाण्डेले ३८ हजार ९४२ मत ल्याएका थिए । अहिले मंसिर ४ गते हुने चुनावमा प्रचण्ड सत्तारुढ गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने चितवन माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *