पोखरा-आँबुखैरेनी सडक स्तरोन्नति : विद्युतको अवरोध, पालिकै पिच्छे करको भारी

पोखरा । अहिले पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार र स्तरोन्नतिको काम चलिरहेको छ । १ वर्षअघि दुई वटा ठेक्का बनाएर काम सुरु गरिएको उक्त आयोजनाको प्रगति भने खासै छैन ।

हालसम्म साढे ३ प्रतिशत हाराहारी मात्रै प्रगति भएको आँबुखैरेनीदेखि जामुनेसम्मका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार हाल रुख कटानको काम अन्तिम चरणमा पुगेको छ भने सडक चौडा बनाउने, पुल निर्माण र टेवा पर्खालको काम धमाधम भइरहेको छ । उक्त खण्डमा ५ वटा पुल निर्माणको चरणमा पुगेको छ ।

पहिलो वर्ष आयोजनाले ५७ करोड खर्च गरेको छ । ५१ करोड बजेट विनियोजन भएको थियो । आयोजनाका लागि तनहुँमा साढे ६ हजार रुख कटान भैसकेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा उक्त सडकलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । आँबुखैरेनी देखि जामुनेसम्मको ४१ किलोमिटर सडक चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने पोखरा देखि जामुनेसम्मको ३९ किलोमिटर यनहुई काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का लिएको छ ।

यो आयोजना पूरा गर्न ६ अर्ब २१ करोड बजेट लाग्ने छ । सहरी क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनमा सडक बनाउन लागिएको हो । आयोजनामा विद्युतले सबैभन्दा बढी अवरोध भएको सुवेदी बताउँछन् । ‘मुख्य चुनौती विद्युतको पोल हो । हामीले स्थानान्तरणका लागि पैसा छुट्याएका छौँ । प्राधिकरणले नयाँ रुटबाट विद्युत् लैदेउ भन्छ,’ उनले भने, ‘त्यसमा धेरै खर्च लाग्छ । हाम्रो आयोजनाले गर्न सक्दैन । विद्युतले सहजीकरण गरिरहेको छैन ।’

पालिकाहरूले स्थानीय कर भनेर अधिक शुल्क उठाएका कारण पनि चुनौती बढेको उनले सुनाए । ‘एउटा पालिकाबाट अर्को पालिकामा निर्माण सामग्री लैजाँदा कर तिर्नुपर्छ । नदीजन्य सामग्रीको कर पहिले नै पालिकालाई बुझाइसकेका हुन्छौँ । त्यसमाथि शुल्क लिन थालेपछि काम कसरी गर्ने ?,’ सुवेदीले भने । पोखराबाट जामुनेसम्मको सडकमा पनि खासै प्रगति देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *