ताल बाराही मन्दिर गुठी समितिमा एघारौं पटक अध्यक्ष बने कुँवर

पोखरा । पोखराको तालबाराही मन्दिरको गुठी व्यवस्थापन समितिको अध्यक्षमा एघारौं पटक पुनः हिक्मतबहादुर कुँवर निर्वाचित भएका छन् । २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । आगामी ३ वर्षका लागि समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा जुना अधिकारी र परशुराम शर्मा, सचिवमा ध्रुव बराल, कोषाध्यक्षमा निर्मल खत्री तथा सहसचिवमा महेश्वर पहारी र मीना ढकाल चयन भए । सदस्यहरूमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावति सापकोटा, पार्वती बोगटी, लक्ष्मी खाती र धन विक्रम ढकाल चयन भएका छन् ।
राष्ट्रिय गुठी व्यवस्थापन समितिको विधान अनुसार समिति बनाएको भनिए पनि एउटै संस्थामा कुँवर नै धेरै पटक अध्यक्ष बन्ने व्यक्ति हुन् ।
तालबाराही मन्दिर फेवातालको बीचमा छ । गत भूकम्पका बेला मन्दिर ३ इन्च दक्षिण तर्फ ढल्किएको छ । आफ्नो कार्यकालमा मन्दिरको पुनः निर्माणलाई प्राथमिकता दिने कुँवरले बताए ।









