ट्राफिक चेकिङका क्रममा चालक प्रहरीसँग जाइलागेपछि…..

काठमाडाैँ । ट्राफिक प्रहरीको रात्रिकालिन चेकिङका क्रममा प्रहरीमाथि नै जाइलागी अभद्र व्यवहार गर्ने २ जना पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकिङका क्रममा साेमवार राति मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका भाडा बसका चालक १ जना र ट्याक्सी चालक १ जना गरी २ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । त्रिभुवन विश्वविद्यालय अगाडीको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा प्रहरीमाथि अभद्र व्यवहार गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यबहार मुद्धामा ५ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त किर्तिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।

त्यस्तै भक्तपुरको जगातीमा गएराती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका धितालउपर अभद्र व्यवहार मुद्धामा ७ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नको लागी ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =