साख गुमाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आर्थिक रूपमा जर्जर (स्वेतपत्रसहित)

विराटनगर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक रूपमा जर्जर बन्दै गएको छ । वार्षिक करोडौँको घाटा रहेको तथ्य सहित प्रतिष्ठानको अवस्था ऋणात्मक रहेको पाइएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा जारी गरिएको श्वेत पत्रमा २०७९ साउन महिनासम्म शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता अन्य सञ्चालन खर्च एवं विगतको दायित्व गरी १ अर्ब ४१ करोड बराबरको ऋणात्मक रहेको उल्लेख गरिएको छ ।

जब प्रतिष्ठान आर्थिक रूपले मजबुत थियो प्रतिष्ठानको सञ्चालन पनि सहज र सरल थियो तर जब प्रतिष्ठान आर्थिक रूपले कमजोर हुँदै गयो तब प्रतिष्ठानको छविमै आँच आउने अनर्गल प्रचार बाजी बढ्न थालेको रजिस्ट्रारद्वारा जारी श्वेत पत्रमा भनिएको छ । आर्थिक वर्ष २०७५/०७६ सम्म राम्रै हुँदै गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिडको संक्रमण सँगै ओरालो लागेको भनिएको छ ।

२०७५/०७६मा ५८ करोड ६६ लाख बचत गरेको देखिएको प्रतिष्ठानमा आर्थिक वर्ष २०७६/०७७ मा २९ करोड ४३ लाख ऋणात्मक अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ऋणात्मक अवस्था बढेर ९१ करोड ४३ लाख पुगेको प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ४१ करोड घाटा प्रतिष्ठानले बेहोरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रतिष्ठान सञ्चालनको लागि आन्तरिक आय २ अर्ब ८० करोड ६६ लाख रहेकोमा सञ्चालन खर्च २ अर्ब २२ करोड भएको थियो । २०७६/०७७ मा आन्तरिक आय २ अर्ब १९ करोड ८५ लाख हुँदा सञ्चालन खर्च बढेर २ अर्ब ४९ करोड २८ लाख पुगेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक आय १ अर्ब ९१ करोड ६ लाख मात्र देखिन्छ भने सञ्चालन खर्च २ अर्ब ८२ करोड ४९ लाख हुँदा घाटा ९१ करोड ४३ लाख देखिन्छ । यो समयलाई कोभिडको समय भएको प्रतिष्ठानले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रतिष्ठानको आम्दानी २ अर्ब ७१ करोड ४४ लाख रहेकोमा ३ अर्ब १२ करोड ४४ लाख खर्च देखाइएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावले बिरामीको चाप घट्न गएको र एक शैक्षिक सत्रको विद्यार्थी भर्ना नै हुन नसकेको कारण विगत २ वर्ष देखि प्रतिष्ठानको आम्दानी १ अर्ब भन्दा बढीले घट्न गएको प्रतिष्ठानले जनाएको छ ।

‘हालै आएर प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवा बाहेक शिक्षक तथा कर्मचारीहरूले पाइरहेको सुविधालाई समेत आर्थिक अवस्था नाजुक भएको कारणले स्थगित गर्नु परेको छ, रजिस्ट्रारद्वारा जारी श्वेत पत्रमा भनिएको छ, प्रदेश नं १, मधेस प्रदेश लगायत पूर्वी पहाडी भेगका बिरामीहरूको निम्ति गहनाको रूपमा रहेको प्रतिष्ठान विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरूमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सिर्जना भएको छ ।’

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्त भएपछि डा सूर्य संग्रौलाले श्वेत पत्रमा भनेका उल्लेख गरेका छन्, यो विकराल अवस्थामा प्रतिष्ठान कसरी बाँची रहेको छ रु यो सबै सम्बद्ध निकाय तथा सर्वसाधारणले समेत जानकारी राख्नै पर्ने विषय भएको छ । वर्तमान अवस्थामा प्रतिष्ठानको खस्कँदै गरेको आर्थिक अवस्थालाई विगत ४ आर्थिक वर्षको आयव्ययले स्पष्ट पारोस् भन्ने मनसायले विवरण सार्वजनिक गरिएको छ ।

भारतको लगानी

नेपाल सरकार र भारत सरकारको संयुक्त नमुना परियोजनाको रूपमा विधिवत् सन् १९९३ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हो । स्थापना कालका दिनहरूमा मित्र राष्ट्र भारतको पूर्वाधार विकासमा भएको सहयोग तथा दक्ष जनशक्ति भारत सरकारको काजमा आई काम गर्ने र निजहरूको तलब भत्ता समेत भारत सरकारले नै उपलब्ध गराउने व्यवस्था थियो ।

सोही अनुपातमा नेपाल सरकारबाट समेत पूर्वाधार तथा सञ्चालन खर्चमा समेत प्रशस्त बजेट विनियोजन हुने व्यवस्था भएको छोटो समयमा नै प्रतिष्ठानले विकासमा फड्को मारेको थियो । प्रतिष्ठानले आफ्ना शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षा आफै सञ्चालन गर्न पाउने व्यवस्था, प्रतिष्ठानको आवश्यकतालाई दृष्टिगत गरी शैक्षिक कार्यक्रमहरूमा लाग्ने शुल्क आफै निर्धारण गर्न पाउने व्यवस्था र नेपाली तथा विदेशी विद्यार्थीहरूको संख्या समेत तोक्न पाउने स्वायत्तताको व्यवस्था रहेसम्म प्रतिष्ठानले कहिले पनि आर्थिक अभावको अनुभूति गर्न नपरेको अवस्था थियो ।

दक्ष जनशक्ति उत्पादन गर्दै समुदायको समग्र मानव विकास गर्ने, स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने र अन्य संस्थाहरूलाई आवश्यक स्वास्थ्य परामर्श दिने, स्वास्थ्य क्षेत्रमा आवश्यक अनुसन्धान गर्ने र संक्रामक तथा ट्रपिकल रोगहरूको अनुसन्धान र उपचारको व्यवस्था गरी स्वास्थ्य विज्ञानको क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउने ध्येयले प्रतिष्ठानको उदय भएको हो । पछिल्लो समय बढ्दै गएको कर्मचारीको असन्तुष्टि, आन्तरिक द्वन्द्व र कलहका कारण व्यक्तिगत स्वार्थ हाबी हुँदा अहिले प्रतिष्ठान समस्यामा देखिएको छ ।

आर्थिक रूपमा मात्र हैन बिरामीले समेत सही रूपमा उपचार पाउन नसकेको भनेर गुनासाहर आउने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउने नाममा हुने विभिन्न आन्दोलन, कर्मचारीहरूबाट भएका लगातारको हडतालले पनि प्रतिष्ठानले पछिल्लो समय बदनामी कमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *