बालेनले हटाउन थाले नक्सापास विपरीतका संरचना (भिडिओसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ ।
नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिए पनि त्यसको विपरीत पसल सञ्चालन गरिएपछि महानगरले पसलहरू हटाउन सुरु गरेको हो । पहिलो चरणमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह काठमाडौँको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गरेका थिए ।
भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिए पनि त्यस विपरीतको कार्य भएको महानगरले जनाएको छ ।
प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
उनले अन्य स्थानमा पनि प्रयोजन विपरीत राखिएका पसलहरू हटाउने बताए । संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारीहरूले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो । तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।








