लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथन हुने

पोखरा । गोरखाको लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथन आयोजना हुने भएको छ । भदौ २५ गते पालुङटार नगरपालिकाको लिगलिगकोट देखि सिरान्चोक हुँदै गोरखा दरबारसम्म म्याराथन गर्न लागिएको हो । द्रव्य शाहले राज्याभिषेक गरेको दिन भदौ २५ गतेको अवसर पारेर प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिकासहित नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा दौड प्रतियोगिता गर्न लागिएको आयोजक समितिले जनाएको हो ।

लिगलिगकोबाट सुरु हुने दौड आँपिपपल, सिरानचोकको हर्मी, छोप्राक, चोरकाटे हुँदै गोरखा नगरपालिकाको पस्लाङबाट गोरखा दरबार पुग्ने छ । ४० किलोमिटरको प्रतियोगिता यसअघि २०७६ सालमा पहिलो पटक आयोजना गरिएको हो । २ वर्षसम्म कोरोना संक्रमणले प्रतियोगिता हुन सकेन ।

पहिलो संस्करणमा १ सय ५८ जनाको सहभागिता रहेको दौडमा यो पटक भने करिब ३०० जना सहभागिता जनाउने अनुमान छ । दौडमा पहिलो हुनेले १ लाख ५० हजार पुरस्कार पाउने छन् ।

दोस्रो हुनेले ७५ हजार, तेस्रोलाई ५० हजार, चौथोलाई ३५ हजार र पाँचौँ हुनेले ३० हजार पुरस्कार पाउने छन् । यस्तै, छैटौँ हुनेले २५ हजार, सातौँले २० हजार, आठौँले १५ हजार र नवौँ हुनेले १० हजार नगदसहित प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *