नेपाली चिया भारतमा प्रतिबन्ध लगाइँदै, चीनले दियाे किन्ने बचन

काठमाडौँ । भारतले दुई देशबिचको वाणिज्य सन्धि विपरित नेपाली चियामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यहाँको राज्यसभाअन्तर्गत रहेको डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्सले विभिन्न देशबाट भारतमा आयात हुने चियाको गुणस्तरबारे जुन १५ अर्थात् असार १ गते अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

संसद्मा पेस भएको उक्त प्रतिवेदन हुबहु कानुनको रूपमा आए नेपाली चियाको भविष्य अन्योल बन्ने झापाका चिया किसान तथा व्यवसायी बुद्धभूषण योञ्जनले बताए ।

‘यदि भारतले नेपाली चिया रोकेर भारतीय चियालाई मात्र बजारीकरण गर्‍यो भने, नेपालमा पनि चिया थियो र भन्ने हुनसक्छ ।’ उनले भने, ‘हाम्रो चिया भारतमै निर्भर भएको हुँदा क्याबिनेट तहबाटै कुरा हुनुपर्छ ।’

भारतीय संसद्मा पुगेको उक्त प्रतिवेदन अनुसार नेपाली चियामा मुख्यतया दुई बुँदा किटान गरिएको छ । जसमा नेपाली चियाको गुणस्तर कमजोर रहेको र भारत पुग्ने नेपाली चिया अत्यन्त सस्तो वर्गको रहेको भनिएको छ ।

भारतमा आयात हुने चियामा नेपाली चियाले आधा हिस्सा ओगट्छ । तर, नेपालको चिया उच्च गुणस्तरको भएको हुँदा भारतीय व्यापारीले भारतीय, दार्जिलिङ र असाम चिया ब्राण्डिङको रूपमा विदेश निर्यात गरिरहेका छन् । विश्व बजारमा पठाउने सोही ब्रान्ड नेपाली चियाकै कारण गुणस्तरमा प्रश्न उठेको भारतको तर्क छ । जुन झुटो रहेको नेपाली व्यवसायीको दाबी छ ।

असाध्य कम गुणस्तरको मात्र चिया नेपाली पक्षले भारत पठाइरहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ, ‘नेपाली चियालाई मात्रात्मक प्रतिबन्धसँगै एन्टी डम्पिङ ड्युटी लगाउनुपर्छ ।’ सो प्रतिवेदनमा अर्को कुरा पनि उल्लेख छ । जहाँ भनिएको छ, ‘चिया आयात नीतिलाई रिभ्यू र रिभिजिट गर्नुपर्छ । ’

नेपाल-भारतबिचको सन १९५० को वाणिज्य सन्धि अनुसार नेपाल आउने भारतीय चियामा ४० प्रतिशत भन्सार लागेपनि भारत जाने नेपाली चियामा भने, भन्सार शुल्क लाग्दैन । यदि नेपाली चिया भित्र्याउँदा नेपालले पाइरहेको शून्य भन्सार सुविधा नीतिबारे पुनर्विचार भए नेपाली चियाले बिस्तारै भारतीय बजार गुमाउँदै जानेछ । प्रतिवेदनअनुसार अब भारतले नेपाली चियालाई ४० देखि एक सय प्रतिशतसम्म भन्सार शुल्क लगाउने छ ।

नेपाल चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालका अनुसार नेपाली चियालाई प्रतिबन्ध लगाउने कानुन बनाए नेपाली चिया व्यवसाय नराम्रोसँग धराशायी बन्नेछ । हाल नेपाली चियाको ८० प्रतिशत बजार भारत नै हो ।

उनका अनुसार नेपालमा अहिले १७ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुन्छ । खेतीमा २४ हजार साना किसान आबद्ध छन् । चियामा आधारित १ सय ४६ वटा उद्योग छन् । चिया क्षेत्रमा काम गर्ने करिब ८० हजार मजदुर बेरोजगार हुनेछन् । पछिल्लो वर्ष २ करोड ३७ लख ४५ हजार केजी चिया उत्पादन भएको बोर्डको तथ्यांक छ ।

‘अहिले देखि मात्र होइन, विभिन्न समयमा अनेक बखेडा झिकेर चियालगायत कृषि उपजको सहज निकासीमा अवरोध पुर्‍याउँदै आएको भारतले यो पटक त कानुन नै बनाएर चिया रोक्न खोजेको स्पष्ट छ ।’ बोर्ड निर्देशक खनाल भन्छन्, ‘भारतीय संसद्का दुवै सदनका अध्यक्ष र सभामुख सकारात्मक बनिसकेको प्रतिक्रिया आएको छ । यस्तो बेला कानुन बन्ने जोखिम छ । हामीले दुई देशको उच्च तहबाटै कुरा गराउन भूमिका खेलिरहेका छौँ ।’

पूर्वका इलाम र झापा चिया खेतीमा प्रख्यात जिल्ला मानिन्छन् । राणाकालदेखि नै चिया खेती सुरु गरे पनि त्यहाँका किसानले तीसको दशकदेखि चिया विस्तार थालेका थिए । पछिल्लो समय आफैँ उद्योग स्थापना गर्ने र ठुला कारखाना समेत भित्रिएपछि नेपाली चियाले व्यावसायिक रूपमा विकास गरिरहेको थियो भने, व्यक्तिगत र संस्थागत पहलमा केही मात्रा चिया तेस्रो मुलुकसमेत गइरहेको थियो ।

खेत र बारी मासेर चिया लगाएका किसान भारतले परिवर्तन गर्न खोजेको नीतिले हतोत्साहित बनेका छन् । ‘कतिले सबै कुरा छाडेर यही चिया मात्र लगाएर बसेका छन् । साराको रोजीरोटी नै खोसिन्छ ।’ इलामका किसान पूर्ण राई भन्छन्, ‘नियमित आम्दानी ठप्पै भएपछि के खाने के लगाउने रु सीमित आय हुनेहरूको बिचल्ली नै हुन्छ ।’

नेपालमा १७ हजार हेक्टर क्षेत्रफलमा लगाइएको चिया भारतबाहेक अस्ट्रेलिया, जर्मनी, डेनमार्क, जापान लगायत मुलुकमा पनि निर्यात हुन्छ । तर तेस्रो मुलुकमा निर्यात बढाउन भने, सकिएको छैन । सन् २०१३ देखि विभिन्न बहना बनाएर भारतले चियामा प्रतिबन्ध लगाउन खोजिरहेको छ ।

उसले सिक्किम र दार्जिलिङ ब्रान्ड बिग्रँदै जानुका पछाडि कम गुणस्तरको नेपाली चिया रहेको निष्कर्षमा पुगेको छ । तर, नेपाली किसानका अनुसार भारतले आफू अनुकूल निर्णय लिने भारतीय अधिकारीहरू नेपाली चियाको उत्पादनप्रति इश्र्या गर्छन् र चियासँगै अन्य कृषि उत्पादनको सहज बजारीकरणमा समस्या पैदा गरिदिन्छन् ।

प्रधानमन्त्री तहमा वार्ता गर्न आग्रह

गत साउन २४ गते इलाम र झापाका किसान एवं व्यवसायीले पूर्व प्रधानमन्त्री झलनाथ खनाल र काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई साथमा लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगे । भेटमा देउवाले सकारात्मक जवाफ दिएको चिया उत्पादक संघका पूर्व अध्यक्ष उदय चापागाईँले जानकारी दिए ।

उनका अनुसार किसान र व्यवसायीको सो टोलीले अर्थमन्त्री, उद्योग मन्त्री, कृषि सचिवसँगै चिया तथा कफी विकास बोर्डका पदाधिकारीलाई भेट गरेका छन् । उनीहरूले भारतले बनाउन लागेको कानुनलाई तुरुन्त रोक्न सरकार पक्षबाट तत्कालै वार्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएका बोर्ड निर्देशक खनालकाअनुसार दुई देशबिच समझदारी गर्ने बारे प्रधानमन्त्री देउवालाई स्पष्ट पारिएको छ । ‘भारतसँग हाम्रो सम्बन्ध चियाको मात्रै होइन, भारत जाने भन्दा नेपाल भित्रिने कयौँ वस्तुहरू छन् ।’

भेटबारे थप प्रस्ट पार्दै उनले भने, ‘एउटा वस्तुको प्रतिबन्धले दुई देशबिचको सम्बन्धमा चिसोपन नआओस् भन्ने बारे प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । वहाँले समय मिलाएर भारतीय समकक्षीसँग कुरा गर्ने वचन दिनुभएको छ ।’

चीनको संकेतले उत्साह बढायो

भर्खरै छिमेकी मुलुक चीनको भ्रमण गरेर नेपाल फर्किएका परराष्ट्र मन्त्री नारायण खड्काले चीनसँग चिया निर्यात गर्ने बाटो खुलेको बताएका छन् । परराष्ट्र सचिवसँगै वाणिज्य सचिवसमेत सम्मिलित उक्त भ्रमणमा नेपालको उच्च गुणस्तरको चिया चिनियाँहरूले रुचाएका छन् ।

समकक्षीसँगको भेटवार्तामा दुई पक्षबिच भएको कुराकानी उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार अब नेपाली चियाको अर्को सहज बजार चीन भएको भनिएको छ । यसले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास समेत व्यक्त गरिएको छ ।

बोर्डका अधिकारीहरू समेत मन्त्री खड्काको चिन भ्रमणले नेपाली चिया बजारमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । ‘यो संयोग मान्नुपर्छ कि भारतले नेपाली चिया प्रतिबन्ध लगाउने तयारी गर्दा चीनले नेपाली चिया भित्र्याउने मन्त्री स्तरबाटै कुरा आएको छ ।’ निर्देशक खनाल भन्छन्, ‘भारतमा जस्तो ठुलो परिमाणमा चिया नलगिए पनि उच्च गुणस्तरको चिया अब चिन पुग्नेछ । त्यसका लागि आवश्यक गृहकार्यमा बोर्ड जुटेको छ ।’

चीनले नेपाली चिया लिए भारतमा भन्दा राम्रो मूल्य पाउन सकिन्छ । हाल भारतमा प्रतिकिलो ५ सय ३५ रुपैयाँमा बिक्री भइरहेको चिया चीनले ३ हजार ७ सय ५० मा प्रस्ताव गरेको छ । जसले गर्दा नेपाली किसान र व्यवसायी उत्साहित बनेका हुन् ।

मन्त्री स्तरबाट भएको कुरालाई मूर्तरूप दिन बोर्डले संयुक्त टाक्सफोर्स बनाउने तयारी थालेको छ । जसका लागि नेपाल र चीन पक्षका चिया बोर्डका अधिकारी, किसान र व्यवसायी हुनेछन् । त्यसको सहजीकरण नेपालको चिया बोर्डले गरिरहेको छ । तर, यो सँगसँगै भारतको बजार पनि गुमाउन नहुने योजनामा नेपाली पक्ष रहेको छ ।

‘चीनसँगको सीमा समस्याले पनि भारतजस्तो सहज नहोला भन्ने छ ।’ चिया उत्पादक संघका पूर्व अध्यक्ष उदय चापागाईँ भन्छन्, ‘हाम्रा लागी त खुल्ला बोर्डर भएको र वर्षौँदेखि सहज कारोबार भएको भारतजस्तो सहज अन्त कहाँ होला र ? यद्यपि निर्विकल्प भारतीय बजारको विकल्पको रूपमा आएको चीनको प्रस्तावप्रति पनि हामी थप उत्साहित बनेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *