एक वर्षमा भित्रियाे १० खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडाैँ । आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स रकम ४ दशमलव ८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १२ महिनाको प्रतिवेदनअनुसार आव २०७८/०७९ रेमिट्यान्स रकम ४ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२ दशमलव आठ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा एक सय ९८ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ।
अघिल्लो वर्ष यस्तो संख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।









