लमजुङ अस्पताल अब प्रदेश सरकारले चलाउने

पोखरा । लमजुङ स्थित जिल्ला अस्पताल अब गण्डकी प्रदेश सरकारले नै चलाउने भएको छ । यसअघि मानव विकास तथा सामाजिक सेवा केन्द्रसँग सम्झौता गरी प्रदेश र उक्त केन्द्र मिलेर सन्चालन गरिएको थियो । अब भने सरकारले पूर्ण स्वामित्वमा अस्पताल चलाउने निर्णय गरेको हो । ‘केन्द्रसँगको सम्झौता भंग गरी अस्पताल प्रदेश सरकारले चलाउने निर्णय गरेको छ,’ सरकारका प्रबक्ता कुमार खड्काले भने । साउन १६ गतेको मन्त्रीपरिषद् बैठकले उक्त अस्पताल आफु मातहतबाट चलाउने निर्णय प्रदेश सरकारले गरेको हो ।

बैठकले महालेखा परीक्षकको चौंथो वार्षिक प्रतिवेदन संसदमा पेश गर्ने निर्णय गरेको छ । यस्तै, गत स्थानीय चुनावको दिन स्याङजाको तिवारी भन्ज्याङमा गाडी दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ५० हजारका दरले दिने निर्णय गरेको छ । उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई ७ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउन लागेको हो ।

प्रदेश सरकारले कोभिड करारमा स्वास्थ्यका कर्मचारी घटाउने भएको छ । उनीहरुलाई अस्थायी दरबन्दीका रुपमा नियुक्त गर्ने निर्णय गरिएको हो । यसअघि सबै करार सेवामा नियुक्त हुने गर्थे । ‘कोभिड संक्रमण कम भएका कारण १ सय ६३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । उक्त दरबन्दी २०८० असार मसान्तसम्म कायम रहन्छ,’ खड्काले भने ।

यस्तै, साउन २३ गते बसेको बैठकले सेवा करारको चिकित्सक र स्वास्थ्य र्मीलाई करारमा लिने कार्यविधि तयार गरेको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कास्की, पर्वत र रोजगार सूचना केन्द्र पोखरामा दरबन्दी कायम गरिएको छ । तालिम केन्द्र कास्कीमा १० जना, पर्वतमा १३ जना र सूचना केन्द्र पोखरामा ३ जनाको अस्थायी दरबन्दी कायम गरिएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =