एचआइभी सङ्क्रमितलाई औषधिले सहज

रामपुर । एचआइभी सङ्क्रमितलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सङ्क्रमितलाई निकै राहत मिलेको छ । नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।

हाल यस अस्पतालबाट नियमित औषधि सेवन, परामर्श सेवा र परीक्षण सेवा दिइएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनबाट रामपुर अस्पतालले सङ्क्रमितलाई औषधि वितरण सेवा सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० जना सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताए ।

रामपुरकी ३२ वर्षीया एक युवतीले रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताए । दुई वर्ष अघिदेखि उहाँले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आउनुभएको थियो । उनीहरुसहित परिवारका चारजना सदस्य एचआइभी सङ्क्रमित थिए ।

नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको रामपुर अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् ।

एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरा लगायतका क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएका थिए ।

उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिनुपर्ने भन्ने मनसायले सेवा दिन थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *