गण्डकीमा एमालेको दाबी : बहुमत चुनाव जितेर पुनः एमालेकै सरकार

पोखरा । नेकपा एमालेले गण्डकीमा बहुमत सहित पुनः आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ । जिल्लास्तरबाट नेताहरूले ब्रिफिङ गरेपछि एमालेले आफ्नो पार्टीको बहुमत आउने दाबी गरेको हो ।

केही स्थानीय तह र वडामा प्राविधिक कारणले जित निकाल्न नसकेको भन्दै एमालेले प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप सुधार हुने बताएको छ ।

तनहुँको बन्दिपुरमा आयोजित सङ्गठनात्मक कार्यशालामा नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) ले सङ्घ र प्रदेशमा बहुमत सहितको सरकार बनाउने गरी रिपोर्टिङ भएको बताए । ‘देश एमालेमय भएको छ । सङ्घ र प्रदेश दुवैमा बहुमतका साथ सरकार बनाउने पक्का भयो,’ उनले भने, ‘कम्युनिस्टको भविष्य देख्न चाहनेहरू अहिले नेकपा (एमाले) मा प्रवेशको लर्को चलेको छ । जनताले पनि विश्वास गरेका छन् ।’

निष्ठा र प्रतिष्ठाको राजनीति गर्नेलाई जनताले सत्तामा पुर्‍याउने भन्दै कार्यनीति, सिद्धान्त र वैचारिक हिसाबले अडिग भएर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए । पार्टी केन्द्रीय सङ्गठन विभाग प्रमुख एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठन र समाधानबारे कार्यपत्र प्रस्तुत गरे । उनले समावेशिताको सिद्धान्त एमालेले मात्रै बुझेको भन्दै दलाल-नोकर-शाही-पुँजीवादको अन्त्य गरेर समाजवादको आधार निर्माण गर्ने कार्यमा सबैले नेकपा (एमाले)लाई साथ दिन र गोलबद्ध हुन आह्वान गरे ।

पार्टी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेको जितको आधार नै सङ्गठन भएको बताइन् । कार्यशालामा विभिन्न जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष, सचिव र सङ्गठन विभाग प्रमुखलगायत गरी ११ र जनसङ्गठनको एउटा गरी १२ समूह गरेर पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव सङ्कलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *