निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग सोमबार छलफल गरेको छ ।

औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने विभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसँग छलफल गरेको हो । उत्पादन वृद्धिमार्फत निर्यात प्रर्वद्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ वुँदे ध्यानकर्षण पत्रसमेत बुझाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे । उद्यौगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रर्वद्धन गर्न लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगमा प्रवर्द्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिन्छ । यसका लागि सरकारसँग हातेमालो गर्न चेम्बर सदैब तयार छ ।’

औद्योगिक व्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगमा एकल व्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दश करोड रुपैयाँ बराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्धन गर्न सकिने बताए ।

मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुको निर्यातमा पटक पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाइ छ । यस्तै उद्योगमा वातावरणीय प्रभाव मूल्यांकन ईआईएको व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । विदेशबाट फर्किएका युवाको सिप र लगानी प्रवर्द्धन गर्न छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए । यसका लागि वैदेशिक रोजगारसम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाइ छ ।

वार्षिक ९ खर्ब रुपैयाँ बराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए । चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगमा वातावरणीय प्रभाव मूल्यांकन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *