फोहर व्यवस्थापनबारे हर्कसँग सिक्न पाेखराका मेयर पुगे धरान

पोखरा । पोखरा महानगरपालिका फोहोर व्यवस्थापन गर्न नसक्दा समस्यामा परेको छ । हाल भइरहेको ल्याण्डफिल साइट निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरण गर्नुपर्ने बाध्यता छ ।

पछिल्ला वर्षहरूमा विभिन्न नगरपालिकाले फोहोरबाट पैसा कमाउन थालेका छन् । तर पोखराले भने वर्षे नि करोडौँ रकम खर्च गर्नुपरेको छ । आउँदो पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने र त्यसअघि नै ल्याण्डफिल सारिदिन विमानस्थल परियोजनाले पोखरा महानगरलाई ताकेता गरेको छ ।

अहिले पोखराको फोहोरबाट बायो ग्याँस निर्माण गर्नेदेखि ऊर्जा उत्पादनसम्मका प्रस्ताव लिएर विभिन्न कम्पनीहरू आइरहेका छन् । महानगरपालिकाले पनि विभिन्न ठाउँका सफल अभ्यास हेरेर त्यसकै आधारमा आम्दानी हुने गरी व्यवस्थापन गर्ने प्रयासमा लागेको छ । मेयर धनराज आचार्य र सरसफाइ शाखाको टोलीले धरानको व्यवस्थापन अवलोकन गरेर फर्किएको छ ।

ल्याण्डफिल साइटको आवश्यक नपर्ने गरी फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न धरान पुगेको आचार्यले बताए । धरानमा भेञ्चर वेस्ट टु इनर्जी प्रालिले फोहोरबाट बायो ग्याँस उत्पादन गरेको छ ।

टोलीमा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बराल, ३३ का अध्यक्ष रामचन्द्र अधिकारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल र इन्जिनियर नेत्र तिमिल्सिना सहभागी थिए ।

अहिले सहरको प्रमुख समस्या नै फोहोर व्यवस्थापन हो । काठमाडौँ महानगर त्यसकै चपेटामा गुज्रिरहेको छ । पोखरामा पनि त्यस्तै अवस्था आउन लागेको छ । ल्याण्डफिल सार्न २ पटकसम्म जग्गा प्रस्ताव गरेपनि स्थानीयको अवरोधले काम अघि बढ्न पाएको छैन । त्यसैले सकेसम्म कम फोहोर उत्पादन गर्ने र उत्पादित फोहोर ल्याण्डफिल साइटमा लैजानै नपर्ने गरी व्यवस्थापनको खोजी गरिएको आचार्यले बताए ।

‘धरानले फोहोरको व्यवस्थापन मात्रै गरेको छैन, फोहोरबाट आम्दानी गरेको छ । हामीले फोहोर व्यवस्थापनमै करोडौँ खर्च गरिरहेका छौँ,’ उनले भने, ‘अब ल्याण्डफिल्डमा लैजान नपर्ने गरी, आम्दानी हुने ढङ्गबाट फोहोर व्यवस्थापन गर्नुपर्छ । नत्र दिगो हुँदैन ।’ धरानको फोहोरबाट अहिले दैनिक ५ हजार सिलिन्डर सिएनजी ग्याँस उत्पादन हुन्छ । त्यहाँ प्राङ्गारिक मल समेत उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, धरान उप–महानगर र भेञ्चर वेस्ट टु इनर्जी प्रालि बिचको सहकार्यमा बायो ग्याँस प्लान्ट जडान गरिएको हो । सोही प्रविधिको प्लान्ट पोखरामा पनि जडान गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

त्यसो त पोखरामै पनि फोहोरबाट बायो ग्याँस उत्पादनको काम भइरहेको छ । धरान र पोखराबिच यसअघि नै भगिनी सम्बन्ध स्थापना भएको छ । धरानबाट पोखराले फोहोर व्यवस्थापनबारे सिक्न सक्ने मेयर हर्क साम्पाङ राईले बताए । उनले आफूहरू पानीको समस्यामा फसेको भन्दै छिटै समाधान गरेर नगरवासीलाई सुविधा दिन लागि परेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *