गर्भपतन गराएको ३ दिनमै महिलाकाे मृत्यु, माइतीले दिए प्रहरीमा उजुरी

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा एक महिलाको मृत्यु भएको विषयलाई परिवारले हत्या भएको भन्दै निवेदन दिएका छन् ।

इटहरी ५ की मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिनमै असामान्य मृत्यु भएपछि माइती पक्षले छानबिनका लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका हुन् ।

साउन २३ गते परिवार नियोजनमा गर्भपतन गराएकी महिलाको अत्यधिक रक्तस्राव भएर विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएपछि मृत्यु भएको परिवार पक्षले बताएका छन् । मृतकका मामा होमबहादुर खड्काका अनुसार बिरामी भएको समयमा माइती पक्षलाई जानकारी गराइएन ।

उनले यो मृत्यु सामान्य दुर्घटना नभई हत्या भएको हुनसक्ने लागेर छानबिनको लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको खड्काको भनाई छ । ‘पछाडिको भागमा पनि नीलडाम रहेको तथा घाँटीमा पनि नीलडाम रहेको छ’, खड्काले भने, ‘अन्तिम समयमा गएर मात्र अस्पताल लगिएको रहेछ, स्थानीय छिमेकीहरूले पनि हत्या भएको हो भन्ने कुरा गर्नुहुन्छ ।’ उनले छानबिन गरी कानुनी कारबाही गर्न माग सहित निवेदन दिइएको बताए ।

मनिलाको घाँटी, पिठ्यूँ लगायतको स्थानमा निलो दाग रहेकोले घटना शङ्कास्पद भएको स्थानीयको भनाई छ । मृतकका आफन्तले शव बुझेका छैनन् । शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल लगिएको छ। माइती पक्षले इलाका प्रहरी कार्यालय इटहरीमा सत्य तथ्य छानबिन गर्न माग गर्दै आएको छ।

पोस्टमार्टमको रिपोर्ट पछि मात्र घटनाको सत्यतथ्य बाहिर आउने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *