गोरखामा बाबुरामलाई रोक्न काँग्रेसको प्लान : माओवादीसँग मात्रै मिल्ने तयारी

पोखरा । अघिल्लो आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराई विजयी भए । गोरखामा काँग्रेस र तत्कालीन नयाँ शक्ति पार्टीबिच गठबन्धन थियो । क्षेत्र नम्बर १ मा कांग्रेसका चीनकाजीलाई नयाँ शक्तिले समर्थन गरेको थियो भने २ मा काँग्रेसले बाबुरामलाई मतदान गर्‍यो ।

चीनकाजी चुनाव हारे, बाबुरामले जिते । प्रतिनिधिसभा मात्रै होइन, प्रदेशसभामा पनि काँग्रेसले ३ सिट लिएर नयाँ शक्तिलाई १ सिट दियो । काँग्रेसले २ सिट गुमायो । नयाँ शक्ति र कांग्रेसका १÷१ जना विजयी भए ।

निर्वाचन जितेर काठमाडौँ छिरेपछि बाबुरामले काँग्रेस कार्यकर्तालाई भड्काउने गरी अभिव्यक्ति दिन थाले । उनले कांग्रेसलाई ‘म्युजियम’ मा राख्नुपर्ने पार्टी भनेपछि आक्रोशित काँग्रेस कार्यकर्ताले यो चुनावमा उनलाई सहयोग नगर्ने घोषणा गरेका छन् ।

काँग्रेस र माओवादी मिलेर अरू पार्टीलाई छोड्ने रणनीतिमा काँग्रेस छ । केही हदसम्म माओवादी पनि काँग्रेसको प्रस्तावको समर्थक बनेको छ ।

काँग्रेस केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र अब्दुल सत्तारले पत्रकार सम्मेलन नै गरेर बाबुरामलाई काँग्रेसले बोक्न नसक्ने बताएका छन् । पाण्डेले गोरखामा काँग्रेस–माओवादी बिच सङ्घ र प्रदेशमा बरावर सिट बाँडफाँट हुने बताए ।

स्थानीय निर्वाचनको मत परिणाम अनुसार काँग्रेस र माओवादीको मत बराबर भएकोले प्रदेश र प्रतिनिधिसभा चुनावमा समान सिट बाँडेर चुनावमा जानुपर्ने उनको प्रस्ताव छ । ‘गठबन्धनमा अरू उपस्थिति बलियो छैन । यहाँ काँग्रेस र माओवादी बराबर शक्ति हो,’ उनले भने, ‘यसपालि २ पार्टीबिच मात्रै गठबन्धन हुन्छ ।’ उनले माओवादी नेताहरूसँग पनि सोही अनुसार छलफल भइरहेको बताए । अघिल्लो चुनावमा काँग्रेसले नयाँ शक्तिलाई समर्थन गरेका कारण माओवादीका नारायणकाजी श्रेष्ठ बाबुरामसँग पराजित भएका थिए ।

२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गोरखामा १ नम्बर माओवादी र २ मा काँग्रेस उम्मेदवार रहने पाण्डेले बताए । उनी पनि टिकटका दाबेदार हुन् । अघिल्लो पटक बाबुरामलाई छोडेका कारण उनी पछि परेका थिए ।

‘काँग्रेस बाहेकलाई गठबन्धनबाट टिकट दिँदा त्यहाँका कार्यकर्ताले विद्रोह गर्न सक्छन् । हामीले अपेक्षा गरे अनुसार परिणाम नआउने खतरा पनि हुन सक्छ’ उनले भने, ‘यसपालि जनभावना अनुसार काम गर्नुपर्छ । २ नम्बर क्षेत्रबाट काँग्रेस नै चुनाव लड्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य सत्तारले क्षेत्र नम्बर २ काँग्रेसले नछोड्ने बताए । ‘उम्मेदवार को हुने भन्ने पार्टीको निर्णय अनुसार होला तर २ मा काँग्रेसको उम्मेदवार हुनुपर्छ । अघिल्लो चुनावमा काँग्रेसको उम्मेदवार थिएन । अहिले कुनै हालतमा छोड्नु हुन्न,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *