प्रदेश र प्रतिनिधिसभा चुनाव : कास्कीमा ४८ सालदेखि उही उम्मेदवार

पोखरा । मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । सरकारले चुनावको मिति घोषणा गरेपछि अहिले उम्मेदवारका आकाङ्क्षीले दाबी प्रस्तुत गरिरहेका छन् ।

पार्टीहरूले आन्तरिक रूपमा उम्मेदवार खोजी थालेको छ । ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा ६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । सबैजसो क्षेत्रमा यसअघि सांसद भैसकेका र चुनाव हारेकाहरू नै आकाङ्क्षी छन् ।

कास्की क्षेत्र नम्बर १ मा एमालेबाट खगराज अधिकारी नै दोहोरिने सम्भावना छ । उनी २०४८ सालदेखि उम्मेदवार बन्दै आएका छन् । अधिकारी २०४८ मा कांग्रेसका तारानाथ रानाभाटसँग पराजित भए । जतिबेला अधिकारी जम्मा २७ वर्षका थिए भने रानाभाट ४६ वर्षका थिए । २०५१ मा खगराज अधिकारी ३१ वर्षको हुँदा सांसद बनेर संसद् भवन छिरे । ५० वर्षका रानाभाट पराजित भए । २०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने ।

२०६४ मा अधिकारी माओवादीका देव गुरुङसँग पराजित भए । २०७० मा अधिकारी उम्मेदवार बनेनन्, मानबहादुर जिसीलाई हराएर कांग्रेसका यज्ञ थापा सांसद भए । २०७४ मा बहालवाला मन्त्री उनै थापालाई पराजित गरेर ५५ वर्षको उमेरमा अधिकारी सांसद पुनः भए । उनी हाल ६० वर्ष पुगिसकेका छन् । ७८ वर्ष उमेरका रानाभाट अहिले पनि चुनाव लड्न कस्सिएका छन् भने काँग्रेसबाट पूर्व मन्त्री थापा र पूर्व जिल्ला सभापति कृष्ण केसीको दाबी छ । एमालेबाट पुष्पज्योति ढुङ्गाना, मनबहादुर गुरुङ र वेदबहादुर गुरुङको चर्चा छ ।

क्षेत्र नम्बर २ बाट२०४८ सालमा सांसद बनेका तुलबहादुर गुरुङ लामो समयको विश्रामपछि पुनः चुनाव लड्ने दाउमा छन् । तत्कालीन एमाले नेता गुरुङ हाल एकीकृत समाजवादीमा छन् । गठबन्धनबाट टिकट ल्याउन उनी लागि परेका छन् । गुरुङ ३३ वर्षको उमेरमा पहिलो पटक सांसद बन्दा कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए ।

शर्मा उतिबेलै ४३ वर्षका थिए । २०५१ मा पुनः गुरुङले शर्मालाई पराजित गरेर दोस्रो पटक सांसद भए । २०५६ मा काँग्रेसले उम्मेदवार फेर्‍यो, महादेव गुरुङलाई टिकट दिएपछि तुलबहादुर पराजित भए ।

२०६४ मा कास्कीको निर्वाचन क्षेत्र ४ वटा बन्यो । माओवादीका राजकाजी गुरुङले चुनाव जित्दा काँग्रेस उम्मेदवार शारदा पौडेल निकटतम भएर पराजित भइन् भने एमालेले गजकुमारी गुरुङलाई टिकट दिएको थियो । २०७० मा काँग्रेसकी शारदाले एमालेका कृष्ण थापालाई पराजित गरिन् । २०७४ मा पुनः ३ निर्वाचन क्षेत्र भयो, एमालेका रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई हराए । २०४८ सालमा कास्की ३ बाट एमालेका सोमनाथ अधिकारी सांसद बनेका थिए ।

उनले कांग्रेसका महादेव गुरुङ (पछि उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार भए) लाई हराएका हुन् । २०५१ मा कांग्रेसका कृष्णबहादुर थापा विजयी हुँदा अधिकारी हारे । २०५६ मा पनि अधिकारी कांग्रेसका प्रकाश गुरुङसँग पराजित भए भने त्यसपछि उम्मेदवारी दिएनन् ।

२०६४ मा एमालेका रवीन्द्र अधिकारी क्षेत्र नम्बर ३ बाट पहिलो पटक विजयी भए । उनी त्यसअघि २०५६ को चुनावमा मालेबाट १ नम्बर क्षेत्रमा चुनाव लडेका थिए । जिल्लाभर माओवादीले चुनाव जित्दा ३ नम्बर क्षेत्रमा माओवादीका झलकपाणी तिवारी हारे । काँग्रेसले विन्दादेवी आलेलाई टिकट दिएको थियो । २०७० मा पनि रवीन्द्र नै विजयी भए ।

कांग्रेसका सोभियतबहादुर अधिकारी हारे । २०७४ मा रवीन्द्रले ह्याट्रिक गरेका हुन् । ०७४ मा क्षेत्र नम्बर ३ बाट भने एमालेका जगत् विक विजयी भए, उनीसँग कांग्रेसका शुक्रराज पराजित भएका थिए । क्षेत्र नम्बर ४ मा २०६४ सालमा माओवादीकी दुर्गा विक विजयी हुँदा एमालेकी सीता गिरी हारिन् । कांग्रेसका प्रकाश गुरुङलाई दोस्रो पटक टिकट दिइएको थियो । २०७० मा उनै सीताले निकटतम प्रतिस्पर्धी कांग्रेसका महादेव गुरुङलाई हराइन् ।

क्षेत्र नम्बर २ मा ह्याट्रिक गरेका अधिकारीको निधन भएपछि उपचुनावमा उनकै श्रीमती विद्या भट्टराईले चुनाव जितिन् । एमालेले भट्टराईलाई नै टिकट दिने सङ्केत छ । गठबन्धनबाट माओवादीले पाए राजकाजी चौथो पटक चुनाव लड्ने दाउमा छन् । कांग्रेसका सोभियत अधिकारी, देवराज चालिसे लगायत उम्मेदवार बन्न कस्सिएका छन् ।

क्षेत्र नम्बर ३ मा पनि पुरानै अनुहारको चर्चा छ । कांग्रेसका शुक्रराज, एमालेका जगत् लगायतले दाबी गर्ने बुझिएको छ । यद्यपि शुक्रराज भने समानुपातिक सूचीबाट सांसद बनेर मुख्यमन्त्री बन्ने दाउमा छन् । हालसम्म सबैभन्दा धेरै उम्मेदवार बनेका छन्, एमालेका खगराज अधिकारी । उनी हालसम्म ५ पटक उम्मेदवार बने भने २ पटक विजयी भएका छन् ।

सोमनाथ अधिकारी र रवीन्द्र अधिकारी ४ पटक उम्मेदवार बने, महादेव गुरुङ, तुलबहादुर गुरुङ, तारानाथ रानाभाट, यज्ञबहादुर थापा, शुक्रराज शर्मा लगायत ३/३ पटक उम्मेदवार बनेका छन् । सबैभन्दा धेरै पटक सांसद हुने भाग्यमानी हुन्, रवीन्द्र अधिकारी ।

यसले के देखाउँछ भने कास्कीको सबैजसो चुनाव केही व्यक्तिहरूको वरिपरि मात्रै घुमिरहेको छ । पहिले सङ्घको चुनावमा हारेकाहरू २०७४ मा प्रदेशबाट पनि चुनाव लडेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.