सांसद्हरू लाखापाखा लागेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि सो सङ्ख्या नपुगेपछि स्थगित भएको हो । बैठकमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रियसभाको सन्देशसहितको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा उठेका विषयमा मन्त्री राईले विधेयकको उद्देश्य सहरी क्षेत्र र काठमाडौँको यातायात यात्रु्मैत्री बनाउने रहेको बताए । उपत्यकामा सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहबाट स्वीकृति लिएका गाडी गुड्ने तर तिनका बीच आपसमा समन्वय नभएकाले व्यवस्थित बनाउन विधेयक ल्याइएको उनकाे भनाइ छ ।

प्राधिकरणमा बढी जनसङ्ख्या भएका स्थानीय तहका प्रमुखले नेतृत्व लिने र जोडिएका पालिकाका प्रतिनिधिलगायत सहभागी हुने व्यवस्था रहेको उनले उल्लेख गरे । विदेशी संस्थाबाट पैसा लिने भएपनि प्रचलित कानुनलाई पालना गरेर मात्रै पैसा लिन सकिने उनकाे भनाइ छ ।

संशोधनकर्ता सांसद प्रेम सुवालले विधेयकले सहर मात्रै नभएर ग्रामीण क्षेत्रको यातायात र काठमाडौँ उपत्यका मात्रै नभएर देशभरको सवारीसाधनको हेर्नुपर्ने र परिषद् सचिवभन्दा मन्त्रीको अध्यक्षतामा गठन हुनुपर्नेमा जोड दिए । संशोधनकर्ता वृन्दा पाण्डेका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद् विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात अस्तब्यस्त भइरहेकाले अबका दिनमा सुधार हुने अपेक्षा गरिएको बताए ।

संशोधनकर्ता गगनकुमार थापाका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद अतहर कमाल मुसलमानले ग्रामीण र सहरी क्षेत्र समेटेर बढ्दा विधेयक समृद्ध हुने र सहरी क्षेत्र तथा सवारी क्षेत्रका विज्ञ समेटिने विश्वास व्यक्त गरे ।

विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद दिव्यमणि राजभण्डारीले परिषद्मा यातायात क्षेत्रसँगै आर्थिक र विकासका क्षेत्र र नगरपालिकाका प्रतिनिधि समेट्दा राम्रो प्रतिनिधित्व हुनसक्ने बताए ।

सांसद दुर्गबहादुर रावतले एकातिर चालक अनुमतिपत्र नदिने र अर्कातिर अनुमतिपत्र नभई किन सवारीसाधन चलाएको भनी ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको बताए । सांसद केदार सिग्देलले प्राधिकरणले सुरुमा राजधानीको यातायात व्यवस्थापन हेरेर बिस्तारै देशभर बिस्तार गर्दा उपयुक्त हुने धारणा राखे ।

सांसद रङ्गमति शाहीले काठमाडौँ सफा र सुन्दर सहर बनाउनुपर्नेमा सहर खाल्डैखाल्डा भएको र दुर्घटनाको जोखिम रहेको औँल्याउनुभयो । सांसद अञ्जना बिसङ्खेले काठमाडौँ उपत्यकालाई कस्तो बनाउने भनी प्राविधिकसहितको छलफल गरेर रणनीतिक योजना बनाउनुपर्ने धारणा राखे ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते आइतबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *