चितवन क्षेत्र नं. ३ : प्रचण्डलाई कति सहज ?

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानबाटै उद्घाेष गरे— ‘मलाई चुनाव लड्नपर्‍याे भनेर रुकुम, गोरखा, धनुषा, सिराहा, कालिकोटका साथीहरूले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरूलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास व्यापकरूपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरू सबैलाई धन्यवाद भन्दै मचाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’

उसाे त उनलाई उक्त निर्वाचन क्षेत्रमा कति सहज छ ? स्वाभाविकरूपमा आमरूपमा जिज्ञासा उठ्न थालेका छन् । आउनुस् यसबारे केही चर्चा र सम्भावनाका कुरा काेट्याऔँ ।

उनी २०७४ सालकाे सङ्घीय निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले पुन: त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने घाेषणा गरिसकेका छन् । ०७४ सालमा  उनले ४८ हजार २ सय ७६ मत ल्याउँदै जिवयी बनेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेससँगको तालमेलमा उम्मेदवार बनेका राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए । तर, यसपटक भने उनले नेपाली का‌ंग्रेसकै ‘भर’ मान्नुपर्ने देखिएकाे छ । ०७४ सालमा पनि उनी वाम गठबन्धनबाट जितेका हुन् अर्थात् उनलाई एमालेकाे साथ थियाे ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नं. ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै ९ वडा पर्छन् । गत स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा प्रचण्डपुत्री रेनु दाहाल निर्वाचित बनेकी छन् । जहाँ यो निर्वाचन क्षेत्रमा पर्ने १९ मध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । एमाले र माओवादी केन्द्रले समान ३/३ वडा जितेका छन् । यस्तै एकीकृत समाजवादीले २ र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । १९ मध्ये एमालेले जितेको ३ वटा वडा र स्वतन्त्रले जितेको १ वटा वडाबाहेकका मत प्रचण्डले नै पाउने निश्चित छ ।

यस्तै माडी नगरपालिकाका ९ वडामध्ये माओवादी केन्द्रले ४ वटा वडा जितेको छ । एकीकृत समाजवादी–राप्रपाले समान २/२ र एमालेले १ वडा जितेको छ । यहाँ कांग्रेसले भने शून्य भाेग्नुपर्‍याे । यसरी हेर्दा माडीबाट पनि प्रचण्डको पक्षमा ६ वटा वडा देखिन्छ । यो निर्वाचन क्षेत्रमा पर्ने २८ वटा वडामध्येबाट प्रचण्डको पक्षमा २१ वडा देखिन्छ । यसरी हेर्दाखेरी केन्द्रीय समीकरण नभत्किए प्रचण्डको जित निश्चितजस्तै छ ।

यसरी हेर्दाखेरि वर्तमान गठबन्धन कायमै रहेकाे खण्डमा त्यहाँबाट प्रचण्डकाे जित सहज देखिन्छ । किनकी उनलाई सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीकाे साथ मिल्नेछ । याे निर्वाचन क्षेत्रमा पर्ने २८ वटा वडाहरूमध्ये माओवादी केन्द्र स्वयम्‌ले जितेकाे वडा संख्या ७ वटा मात्रै छ । याे जितका लागि अपर्याप्त हुन्छ । तर, उनलाई नेपाली कांग्रेसले जितेकाे १० वडाले पनि साथ दिनेछ भने एकीकृत समाजवादीले पनि साथ दिनेछ, जहाँ उसले ४ वडाहरूमा जित निलेकाे छ । यसाे हुँदा प्रचण्डकाे पक्षमा माओवादी केन्द्रले जितेकाे ७ वडा, कांग्रेसले जितेकाे १० र एकीकृत समाजवादीले जितेकाे ४ वडा गरी २१ वडा हुनेछ । जुन कुनैखाले नाटकीय घटना नघटे जितका लागि माेटामाेटी पर्याप्त संख्या हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *