९७ वर्षीय खड्गबहादुर भन्छन्- ‘रोगले छोएन, दुःखले छोडेन’

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभासपूर्ण स्थिति पनि उत्पन्न हुँदो रहेछ भन्ने गतिलो उदाहरण बनेका छन्  म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७ औँ वसन्त पार गरेपनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन् ।

स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उनलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।

झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहर्‍याइरह्यो, दुखी रह्यो । थापा दम्पतीका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् ।

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लट्टीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्छन् । उनको निधारमा चन्दन त कहिल्यै छुट्दैन तर जीवनको एक मात्र सहारा (पत्नी) पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले उनलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्छन् ।

वृद्धभत्ता नै बाँच्ने सहारा

मनमा जति पिर र चिन्ता भए पनि थापा दम्पती खानेकुराको भने सौखिन नै हुनुहुन्छ । ज्येष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाऊँ र के लाउँको समस्या भने छैन ।

बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्छन् । त्यसपछि चिया बनाएर खाएपछि लट्टीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौल कुरा गरेर हँसाउने छिमेकी पदमपाणी शर्माले बताउँछन् । “मनमा जति ठुलो पिर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन” शर्माले भने । उमेरले नेटो काटे पनि उनको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कँदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उनको बानी रहेको छ ।

रोगले छोएन, दुःखले छोडेन

पचास वर्षको उमेर पार गर्न नपाउने नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुन् । रोगको बारेमा सोध्दा उनले ठट्यौली शैलीमा भने, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरू त केही हुँदैन ।”

उमेरमा अरूको ज्याला मजदुरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भने “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौँ अनि झारेगैरा (तराई) गयौँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।”

‘सय कटे बिहे गर्थेँ’

मनमौजी थापाका उटपट्याङ कुराले सुन्नेहरूलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । उनका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आएका थापालाई ‘तपाईँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भने “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।”

थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हासे । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ ।

अझैसम्म पनि थापा दम्पतीले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्छन् । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कँदै खाने उनका छिमेकी शर्माले बताए ।

श्रीमती खिरकुमारीलाई आफूले फकाएर बिहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउँछन् । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त…….” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भने “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।”

रातका साथी कुकुर

दिनभरि गाउँ घुमेर र छिमेकीहरूसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियाँस्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैँभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भइदिएको भए कति जाति हुन्थ्यो होला ?’

रात अबेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्छन् । त्यहाँ बस्दै आएको कुकुर थापा सम्पत्तिको साथी बन्छ । उनले एउटा सेतो कुकुर पालेका छन् । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उनीहरूले ‘सचेते’ नामले बोलाउँछन् । त्यही कुकुरलाई सुमसुम्याउँछन्, माया गर्छन् र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउँछन् ।

“बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठुलो पीडा हुँदो रहेछ,” थापाले भने, “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।” ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ । सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

खिरकुमारीले पनि ८० वसन्त पार गरिसकेका छन् । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आएका छन् ।

“शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भने “बुढेसकालले छोपेपछि जिउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”

थापा सम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरू हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पती मान्नुहुन्न । उनीहरू भन्छन्, “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामर्थ्य छैन ।”

हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उनका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरूको सहयोग गर्ने, घर लिपपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पतीले मानेनन् ।

उनी भन्छन्, “यो उमेरमा अरूलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठुलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरूलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरूलाई दुःख दिन नचाहने थापा दम्पती गाउँमा सबैका प्यारा छन् ।

कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरूलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरूले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *