अध्यक्षबाट राजीनामा दिएका रवीन्द्रकाे पत्र- ‘मेरै नेतृत्वमा दल दर्ता गर्न निर्वाचन आयाेग जाऔँ’

काठमाडाैँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा आसन्न सङ्घीय निर्वाचनमा सहभागी हुने प्रयाेजनका लागि दल दर्ताका लागि निर्वाचन आयाेग जान प्रस्ताव अघि सारेकाे छ । उनले केन्द्रीय सदस्यहरूलाई पत्र पठाउँदै यस्ताे प्रस्ताव अघि सारेका हुन् । ‘दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिह्नमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ,’ मिश्रले पठाएको पत्रमा उल्लेख गरिएकाे छ ।

उनले आफू सक्रिय नभए दल दर्ता नहुने स्थिति देखिएकोसमेत बताएका छन् ।

मिश्रले पठाएकाे पत्रका सम्बन्धमा केन्द्रीय समितिमा छलफल गर्ने र मात्रै निर्णयमा पुग्ने एक केन्द्रीय सदस्यले बताएका छन् । ‘उहाँले आफ्नै नेतृत्वमा जानचाहिँ भन्नुभएकाे छ । तर यसबारे छलफल नभइकन हुँदैन भनेर हामीले भनेका छाैँ । त्यमसा हामीले छलफल नै गर्छाैँ र मात्रै निर्णयमा पुग्छाैँ । त्यसमा गणतन्त्रवादी साथीहरूले विराेध जनाइरहनुभएकाे छ,’ उनले भनेका छन् ।

निर्वाचन आयोगले साउन ३१ भित्र दल दर्ता गर्न समय दिएको छ ।

यस्ताे छ पत्र:

आदरणीय साथीहरू,

मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झण्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन। यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ।

दल दर्ता नगर्नु देशका विभिन्न ठाऊँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ। दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित शर्तहरू पुरा गर्नुपर्छ। पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन।

नयाँ नेतृत्व निर्वाचन आयोगले अध्यावधिक गरेपछि मात्र उसकोरउनको हष्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन। कानूनतस् म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु। यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

१। अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन। बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरून्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ। हामीले विगतमा पनि आपतकालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आइ मिनेट बुकमा हष्ताक्षर गर्ने गर्दछन्। बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हस्ताक्षर मागिने छ।

२। यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व ९अध्यक्ष० का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर भोलि बुधबार नै पार्टीको केन्द्रीय कार्यलयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु।

राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भिर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु। यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो। सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनु पर्नेछ। पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु।

-रवीन्द्र मिश्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =