पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुहुँदै यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन दिए ।

विमानस्थलभित्रका पूर्वाधार निर्माण र यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभूति हुने गरी काम गर्न उनले निर्देशन दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्तदुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिए ।

उनले विमानस्थलको आगमन र प्रस्थानस्थलका साथै धावनमार्ग क्षेत्रको पनि निरीक्षण गरेका थिए । सो अवसरमा उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको चर्चा गर्दै ७३ बुँदे कार्ययोजनामा विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङस्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सुधार भएको छ । विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ भने २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *