बेतन कर्णाली आयोजनाबाट ३८४ परिवार प्रभावित हुने

लघु जलविद्युतसहित ३५ व्यापारी पनि विस्थापन हुँदै

काठमाडौँ । निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट) बाट सुर्खेत र अछामका ३ सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार ३ सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् ।

आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए । यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने उनले बताए ।

आयोजना निर्माणबाट ३ झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् । ‘अछामतर्फको जग्गाको मुआब्जा निर्धारण समितिले मूल्याङ्कन गरिसकेको छ, बैंकको टुङ्गो लाग्न नसक्दा मुआब्जा वितरण हुन सकेको छैन्,’ न्यौपानेले भने, ‘सुर्खेततर्फ मूल्याङ्कन हुन बाँकी छ, ऐलानी जग्गा र ती जग्गामा बनेका संरचनाको क्षतिपूर्तिका हकमा सरकारले निर्णय गर्छ ।’

आयोजनाले अछामतर्फ १ हजार ८ सय ४४ तथा सुर्खेतमा करिब ४ सय रोपनी जग्गा अधिग्रहण गर्दैछ । प्रभावित क्षेत्रका लागि आयोजनाले कूल लागतको कम्तीमा ० दशमलव ५ प्रतिशत रकम छुट्ट्याइ सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्नेछ । ८८ अर्ब रुपैइाँ लागत रहेको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए० अन्तिम चरणमा पुगेको छ । आयोजनाका प्रबन्धक न्यौपानेले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, बैंक काउन्टर स्थापना गरी खाता खाल्न, बेलिब्रिज निर्माण गर्न, कन्स्ट्रक्सन पावर जडान र विद्युत् खरिद सम्झौता ९पिपिए० गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘अछामतर्फ पहुँच सडक निर्माण भइसक्यो, सुर्खेततर्फ सात किमी ट्र्याक खोल्न बाँकी छ, पिपिए एग्रिमेन्ट र कन्स्ट्रक्सन पावर जडानका लागि पनि प्रक्रिया अघि बढिसकेको छ, मुख्य ठेक्का लाग्न अझैं कम्तीमा एकरडेढ वर्ष लाग्छ ।’ यो अर्धजलाशययुक्त आयोजना हो ।

आयोजनाको बाँधस्थल अछामको ढकेरी गाउँपालिका–६ मालुमेला, सुर्खेतको चौकुने गाउँपालिका–६ र विद्युतगृह अछामको ढकेरी गाउँपालिकाकै टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिका–६ मा पर्दछ । मुख्य पावरहाउसबाट ४३० दशमलव २ मेगावाट र वातावरणीय बहावबाट थप ८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । मालुमेलामा एक सय ४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । सेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको २ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको ९ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ ।

आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकार राख्ने सहमति भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *