पोखराका व्यवसायीलाई लाग्यो चुनाव, अध्यक्षमा पोखरेलकाे उम्मेदवारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन मिति तोकिएको छ । भदौ २४ र २५ गते हुने अधिवेशनका लागि व्यवसायीहरू बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्ष बन्न हालका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले आफ्ना एजेन्डा सहित अध्यक्षमा दाबी गरेका हुन् । पोखरेल हाल संघको वाणिज्य तर्फका उपाध्यक्ष हुन् ।

उनले सबैको सल्लाहबाट नै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । पोखरा उद्योग वाणिज्य संघ पोखराकै सबैभन्दा पुरानो सामाजिक संस्था हो ।

‘संघको गर्विलो इतिहासको रक्षा, अग्रजले गरेका योगदानको जगमा उभिएर आम पोखरेलीको अभिभावक संस्थाका रूपमा पुनः स्थापित गर्ने दायित्व अहिले नयाँ पुस्ताको काँधमा आएको छ,’ उनले भने, ‘अग्रज, समकालीन र अनुजहरूसँग सल्लाह गरे पश्चात् यो घोषणा गरेको छु । मेरो कार्यकालमा संघको आर्थिक, सांगठानिक र अधिकार रक्षाका लागि निकै मेहनत गर्नुपर्ने छ ।’

संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताएका छन् ।

उनी संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर काम गरिसकेका छन् । पोखरेलले ८ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् । संघलाई सबैको साझा घर बनाउने, आर्थिक रूपमा सबल र सक्षम बनाउने, संघको भवनलाई पुनः निर्माण गर्ने, नागरिकका दैनिक समस्याबारे पैरवी गर्ने, उद्योगी व्यवसायीको हक हितमा काम गर्ने, पोखरामा इक्युवेसन सेन्टर स्थापना गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धन मार्फत पर्यटक भित्र्याउन पहल गर्ने, पोखरा लगानी सम्मेलन गर्ने र विदेशी लगानी भित्र्याउन सहयोगीको भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

यस्तै, संघसँग वैदेशिक संघ संस्थासँग साझेदारीमा जोड्ने, विभिन्न संघ संस्थासँग एकीकृत काम गरेर नमुना संघ निर्माणमा पहल गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *