सहकारीका लागि काेप कार्ड सञ्चालनमा

काठमाडौँ । राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी)ले सहकारीका लागि काेप (Coop) कार्ड सेवा सुरु गरेको छ । विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थालाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा एसटीसीले अब सहकारीका लागि पनि कोप कार्ड उपलब्ध गराउने भएको हो । सहकारी पहिचानसहितको कोप कार्ड राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना दिवसमा आयोजित समारोहमा शुभारम्भ गरिएको हो ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङमार्फत आफ्नो सेवा दिँदै आएकोे छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थालाई मात्र सुविधा पुर्याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाएकोे छ । विगत केहि समय अघिदेखि एससीटी एसटीसीले १०० भन्दा बढी सहकारीलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याउन लागेको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पीओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् ।

यो सहकार्यपछि सम्पूर्ण सहकारीले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् । सहकारीले आफ्ना सदस्यलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् । पोओएस(पोस) को माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिनेछ र सहकारीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

कार्ड शुभारम्भ कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हासिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताइन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले सहकारीमा प्रविधिको महत्व र उपयोगिताबारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्वारा सहकारीलाई विद्युतीय कारोवारका लागि थप प्रविधियुक्त सुविधा दिँदै जाने र सहकारीलाई अझ सवल बनाउँदै जाने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केही टेवा पुर्याउन पाएकोमा खुसी व्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने बताए । एससीटीले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । सेवा क्षेत्रमा प्रविधिको आवश्यकता रहँदै आएको सन्दर्भमा यस्ता सेवा थपिँदै जाँदा संस्थाको सेवा प्रविधियूक्त हुने धारणासमेत अध्यक्ष पोखरेलले व्यक्त गरे ।

कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *