कर बृद्धि तत्काल फिर्ता लिन गण्डकी सरकारलाई कांग्रेसको निर्देशन

पोखरा । गण्डकी प्रदेश सरकारले चालू वर्षमा यातायात देखि मालपोत लगायत विभिन्न शीर्षकमा अत्यधिक कर बढाएपछि उक्त बढेको कर तत्कालै फिर्ता लिन कांग्रेस गण्डकी प्रदेश समितिले निर्देशन दिएको छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठकले चालू वर्षमा बढाइएको कर फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो । यहाँ कांग्रेसकै नेतृत्वमा सरकार बनेको छ ।

‘कांग्रेस जनताको दुःखमा साथ दिने पार्टी भएकोले जनताका समस्यालाई समाधान गर्नुको साटो जनतालाई नै सास्ती दिने तरिकाले गरिएको निर्णयलाई तुरुन्त बदर गरि गत वर्षको करलाई यथावत गर्नको लागि ध्यानाकर्षण गराउछौं,’ निर्णयमा भनिएको छ ।

आफ्ना प्रतिनिधिलाई जनताको भावना अनुरुप काम गर्नको लागि पठाइएपनि व्यक्तिवादी सोंचले जनअपेक्षा कुल्चने प्रयास भएको प्रबक्ता माधव प्रसाद बाँस्तोलाले बताए । उनले जनभावना विपरितका निर्णयहरु तत्काल संसोधन गरि कर बृद्धिलाई रोक्न सरकारलाई आग्रह गरिएको बताए ।

सरकारले आर्थिक ऐनबाट मालपोत र भूमि सम्बन्धि कर अधिक बढाएको छ । यस्तै, यातायातमा वर्षकै १० हजारसम्म कर बढेको छ । अंशबण्डामा साढे ३ सय प्रतिशतसम्म कर बढेको छ । अहिले सरकारको चौतर्फी आलोचना र विरोध भैरहेको छ । यसअघि सवारी करको जरिवाना समेत २ सय प्रतिशत बढाएका कारण धेरै विरोध भएपछि २० प्रतिशतमा झारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *