प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

पोखरा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट संसदीय चुनाव लड्न माओवादीका नेता कार्यकर्ताले आग्रह गरेका छन् । काठमाडौँमा भएको एक भेटघाटका क्रममा उनीहरूले प्रचण्डलाई गोरखाबाट चुनाव लड्न आग्रह गरेका हुन् ।

गोरखा १ मा अहिले पनि माओवादी नै निर्वाचित भएको छ । २०६४ देखि लगातार माओवादीले विजय हासिल गरेको थियो । २०६४ मा पार्वती थापा, २०७० को निर्वाचनमा बाबुराम भट्टराई र २०७४ को निर्वाचनमा हरिराज अधिकारी निर्वाचित भएका हुन् ।

अहिलेका सांसद समेत रहेका अधिकारीले नै प्रचण्डलाई आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । ‘गोरखासँग प्रचण्डको एक हिसाबको सामीप्यता छ । आरुघाटमा उहाँले पढाउनुभएको, त्यहाँका कम्युनिस्ट अग्रज नेताहरूसँग पनि छुट्टै सम्बन्ध छ । सबैको आवाज हो यो,’ उनले भने, ‘मैले पनि सबैको भावनालाई प्रचण्ड समक्ष प्रस्ताव गरेको साँचो हो ।’ तर प्रचण्डले कहाँबाट चुनाव लड्ने भन्ने टुङ्गो लगाएका छैनन् ।

हाल उनी चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । अहिले पनि चितवनबाटै चुनावमा सहभागी हुने सङ्केत छ । यद्यपि नेताहरूले गोरखा १ सँगै धनुषा १, सिन्धुली २ र सिराहा ३ बाट निर्वाचनमा उम्मेदवार बन्न सुझाव दिएको बताइएको छ ।

प्रचण्डका लागि गोरखा १ सहज क्षेत्र हुन सक्छ । ६ वटा गाउँपालिका र गोरखा नगरपालिकाको केही वडाहरू पर्छन् । आरुघाट बाहेक सबै पालिकाको प्रमुखमा माओवादी विजयी भएको छ । प्रचण्ड आए आफूले जितेको भन्दा बढी भोट ल्याएर चुनाव जित्ने अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *