कर्णालीका पर्यटन मन्त्रीको कार्यकाल सकिँदै, नयाँ मन्त्रीमा वीरबहादुरकाे सम्भावना

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन)को कार्यकाल सकिँदै छ । उनको कार्यकाल सकिएसँगै कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री फेरिने भएका छन् ।

गत माग २३ गते आइतबार पर्यटन मन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का गैर–सांसद छिरिङ डम्डोल लामा उर्फ कार्चेनको समयावधि सकिन लागेको हो । उनी हुम्लाका हुन् ।

नेपाली काँग्रेसबाट कर्णाली सरकारका मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले कार्चेनलाई पर्यटन मन्त्रीमा नियुक्त गरेका थिए । गैर–सांसद पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार कार्चेन कर्णालीको पर्यटन मन्त्रीमा गत माघ २३ गते नियुक्त भएका थिए । मन्त्री कार्चेनको ६ महिने अवधि यहीँ साउन २४ गते सकिने भएको छ ।

मन्त्री बन्छु भन्नेमा ९० प्रतिशतसम्म ढुक्क छु : वीरबहादुर शाही

पर्यटन मन्त्री लामाको स्थानमा नेकपा (माओवादी) केन्द्रका सांसद वीरबहादुर शाही आउने सम्भावना रहेको छ । उनी डोल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सभा सदस्य हुन् । मन्त्री लामाको मन्त्री पदको समयावधि सकिन चार दिन बाँकी रहँदा पनि माओवादीले कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । तर, मन्त्रीका लागि बढी सम्भावना शाहीको रहेको छ ।

यसै विषयमा सांसद वीरबहादुर शाहीले मन्त्री बन्ने कुरा सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘दल भित्र कुनै छलफल त भएको छैन, तर, पर्यटन मन्त्रालय माओवादीको भागमा परेको छ । हाम्रो दल भित्र ९० प्रतिशत म नै मन्त्री बन्छु भन्नेमा ढुक्क छु । महिला तथा समावेशीका कुरा उठ्न पनि सक्छन् । तर, दलले मलाई मन्त्री बनाउँछ भन्नेमा विश्वस्त छु ।’

यस्तै, कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की सचेतक कृष्णा शाहले नयाँ मन्त्रीको लागि दलभित्र कुनै छलफल नभएको बताइन् । उनले मकालुखबरसँग भनिन्, ‘हाम्रो दलको बैठक साउन २३ गते बस्दैछ । उक्त दिन बसेको बैठकले दल भित्रबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्नेछ ।’ सचेतक शाहले थपिन्, ‘मन्त्री बन्ने सम्भावना सांसद वीरबहादुर शाहीको छ । तर, उहाँ नै मन्त्री बन्नु हुन्छ भनेर अहिले नै ठ्याक्कै भन्न सक्ने अवस्था छैन । सोमबार बस्ने दलको बैठकले नै फाइनल गर्ने छ ।’

२०७८ कार्तिक १६ गते मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले झण्डै ९६ दिनपछि सरकारलाई पूर्णता दिएका थिए । कर्णालीका नेकपा माओवादी, एकीकृत समाजवादी र नेपाली कांग्रेस गरेर तीन दलबिच गठबन्धनको सरकार छ । कर्णालीमा मुख्यमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा महिला र दलितको सहभागिता भने शून्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *