करेन्ट लागेर ससुरा-बुहारीसहित तीनको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरू ससुरा-बुहारी हुन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए । यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *