गाडीपछि जग्गाबाट कमाउन खाेज्दै गण्डकी सरकार : अंशबण्डामै बढ्यो साढे ३ सय प्रतिशत कर

पोखरा । गण्डकी सरकारले गाडीमा जस्तै जग्गामा समेत अत्यधिक कर बढाएको छ । सगोलभित्रको अंशबण्डामै सरकारले चर्को कर लगाएको हो ।

अब गण्डकी प्रदेशका नागरिकले तीन पुस्ता भित्रको नामसारी गर्दा महानगर भए ५ हजार तिर्नुपर्छ भने नगरपालिकामा ३ हजार र गाउँपालिमा १ हजार ५ सय शुल्क लाग्ने भएको छ । गत वर्ष महानगरमा नामसारी शुल्क १ हजार ५ सय थियो ।

नगरपालिकामा १ हजार र गाउँपालिकामा ५ सय थियो । सबैमा साढे २ सय प्रतिशत हाराहारी शुल्क बढाइएको छ । यस्तै तीन पुस्ता बाहिरकाले भने झनै महँगो शुल्क तिर्नुपर्छ ।

यसअघि ३ हजार ५ सय लिइएको महानगरभित्र अब १५ हजार लाग्नेछ । नगरपालिकामा ३ हजारबाट बढेर १० हजार पुगेको छ भने गाउँपालिकामा १ हजार ५ सय बाट बढेर ५ हजार कायम गरिएको छ ।

हाल साबिक दस्तुर पनि महानगरमा ४ सयबाट १ हजार पुगेको छ भने नगरपालिकामा २ सयबाट ५ सय र गाउँपालिमा १ सयबाट २ सय पुगेको छ । संशोधन शुल्क पनि दोब्बर बढाइएको छ ।

गण्डकी सरकारले महिला, ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक र नाबालकको लिखतमा भने २५ प्रतिशत छुट दिएको छ । एकल महिलाको हकमा ३५ प्रतिशत छुट छ । मनाङको नार्पाभूमि, नासौँ र मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको थासाङ, लो घेकर, बारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ तथा गोरखाको चुनमुब्रीमा ५० प्रतिशत छुट दिएको छ ।

बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संस्थाले आफ्ना नाममा दाखिल खारेज गर्दा प्रति मिसिले पहिले महानगर र उपमहानगरमा ७ हजार लिने गरिएकोमा यो वर्षदेखि १५ हजार पुगेको छ ।

यस्तै नगरपालिकामा ५ हजारबाट १० हजार पुगेको छ भने गाउँपालिकामा २ हजारबाट ५ हजार पुगेको छ । अंशबण्डा आर्थिक कारोबार नभई हकभोगको हस्तान्तरण मात्रै भएकोले कर घटाउनुपर्ने माग सेवाग्राहीको छ ।

‘सरकारको निर्णयले अंशबण्डा गर्न जानुअघि नै १ कित्ता घडेरी बेच्नुपर्ने भयो । बाबुबाजेका सम्पत्ति हस्तान्तरण गर्दा यति चर्को शुल्क रु,’ पोखराका कपिलनाथ कोइराला भन्छन्, ‘यस्तो कर तत्कालै घटाउनुपर्छ । मन्त्रीले आफ्ना सेवा सुविधा वृद्धि गर्न र महँगा गाडी किन्न जनतालाई मार्न पाइँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *