चाैथाे लहर:

खोप लगाएकाहरूमा पनि नयाँ भेरियन्टकाे संक्रमण देखिएकाे छ, सतर्क रहनुपर्छ : डा. अनूप सुवेदी (अन्तर्वार्ता)

'कोरोनाको आयु कति हो भनेर भन्न सकिने अवस्था छैन'

काठमाडाैँ । कोरोनाभाइरसको संक्रमण शुरू भएकाे झन्डै ३ वर्ष पुग्न लाग्याे । यसबीचमा संक्रमणका लहरहरू चले भने विभिन्नखाले भेरियन्टहरू देखिए । जानकार तथा सम्बन्धित क्षेत्रमा काम गर्ने चिकित्सकहरूकाअनुसार अहिले चाैथाे लहर चलिरहेकाे छ । उनीहरूकाअनुसार अहिले ओमिक्रोन भेरियन्टकै भिन्नभिन्नै उपप्रजातिहरू देखिने क्रम जारी छ । उपप्रजातिहरू बीए. ४ र बीए.५ अहिलेकाे प्रमुख उपप्रजातिहरू हुन् ।

छिमेकी मुलुक भारतबाट सोझै नेपालमा फैलिएको आकलन गरिएको यी प्रजातिहरू नेपालमा केही महिनाअगाडि देखिएकाे थियाे । पछिल्लो केही दिनयता काेराेना संक्रमितहरूकाे ग्राफ पनि ह्वात्तै बढेकाे छ । उनीहरू प्राय: यही बीए.५ बाट संक्रमित छन् । यसलाई हालसम्मकै तीव्र गति (अल्ट्रफास्ट) मा फैलनसक्ने क्षमता भएकाे उपप्रजातिका रूपमा लिइएकाे छ ।

अल्ट्राफास्ट बीए.५ को पुष्टि भएसँगै नेपालमाे संक्रमणदर लगातार उकालाे लागिरहेकाे छ । परामर्श लिनेहरूको संख्या पनि बढ्दै गइरहेकाे डाक्टहरूले बताएका छन् । तर, अस्पतालमा आएका संक्रमितहरूमा जटिल अवस्था भने नदेखिएको डाक्टरको भनाइ छ । हाल अधिकांश कोरोना संक्रमितहरूमा मूल ओमिक्रोनमा देखिने गरेका लक्षणहरू नै देखिएका छन् । दक्षिण अफ्रिका, युरोप, अमेरिकालगायतका देशहरूमा पनि बीए.४ र बीए.५ कै बढी संक्रमितहरू छन् । तर यो कति घातक छ ? भन्ने कुरामा भने स्वयम् डाक्टहरू नै पनि पक्का छैनन् । यसकाे मापन संक्रमितकाे अवस्थताले निर्धारण गर्ने डाक्टरहरूकाे भनाइ छ ।

बीए.४ र बीए.५ उपप्रजातिहरू अल्ट्राफास्ट देखिए पनि त्यसको अनुपातमा अस्पताल भर्ना अथवा मृत्यु गराउने क्षमता भने कम देखिएको छ । त्यसाे त परीक्षणा पनि कम मात्रामा भइरहेका छन् । अहिलेसम्म नेपालमा यो भेरियन्टबाट कति जना संक्रमित भएका छन् ? ठ्याक्कै तथ्याङ्क छैन । तर, बढी यसैबाट संक्रमित हुनसक्ने डाक्टहरूकाे आकलन छ ।

उसाे त बीए.५ नै अन्तिम भेरियन्टकाे रूपमा देखिने सम्भावना न्यून छ । कोरोनाले आफूअनुकूल नयाँ-नयाँ भेरियन्ट बनाउँदै जाने विगतमा पनि थियाे र अब पनि साेही चक्र देखिने डाक्टरहरू बताउँछन् । यी नै यावत् सन्दर्भहरूमा संक्रमण रोग विशेषज्ञ डा.अनूप सुवेदीसँग मकालुखबरकले गरेको कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ ।

काेराेनाकाे चाैथाे भेरियन्ट कस्ताे भेरियन्ट हाे र यसकाे असर कस्ताे छ ?
याे एक हिसाबले बढी संक्रमणशील जस्ताे देखिएकाे छ । यसले पहिला संक्रमण भएको र खोप लगाएकाहरूलाई समेत संक्रमितपार्न सक्ने सम्भावना उच्च छ । तर, यो कति घातक हुन्छ भन्ने कुराचाहिँ व्यक्तिको अवस्थाले निर्धारण गर्छ । अहिले कति राेगी तथा असक्त वर्गलाई, पहिला संक्रमित भएका वर्गलाई हुने गरेको देखिन्छ । खोप लगाएको छ भने इन्फेक्सन देखिए पनि सिकिस्त हुने सम्भावना कम हुन्छ । पहिला खोप लगाएको छैन, पहिला संक्रमण भा’को छैन वा भएको छ भने त्यस्ता व्यक्तिले धेरै सजक हुनुपर्ने हुन्छ । र, खोप पनि एक डोज मात्र लगाएको छ, अथवा लगाएकै छैन भने उसलाई चाहिँ बढी नै जटिल हुने सम्भावना छ । नेपालमा अधिकांश मान्छेहरूले संक्रमण नै एक/दुईपल्ट भइसकेको र खोप पनि कतिले लगाएको भएको कारणले पहिलो र दोस्रो लहरजस्तो अस्पतालमा बेड नपाउने अवस्था भने छैन । तर हामीले सुरक्षाका उपाय भने अपनाउनै पर्ने हुन्छ ।

पछिल्लाे भेरियन्टबाट संक्रमण भइसकेपछि चाँडै निकाे नहुनेलगायतका समस्याहरूमा तीव्ररूपमा देखिएकाे भनिएकाे छ, याे साँचाे हाे ? अनि याे कति घातक छ ?
अगाडिको लहर जति भयानक र भाइरल भने हाेइन भन्ने हाम्राे बुझाइ छ । सजकता अपनाए यसको असर कम हुन्छ । मानिसहरू सिकिस्त हुने अवस्था कम छ । मैले काम गरिरहेको अनुभवमा पनि अस्पताल आएका बिरामीहरूमा जटिलता कम देखिएको छ । तर जटिलता देखिएका बिरामीलाई भने गाह्रो नै पार्छ । अहिलेचाहिँ कम नै बिरामी/संक्रमित छन् । यसो भन्दै गर्दा पनि सतर्कताचाहिँ हुनैपर्ने हुन्छ ।

अघि तपाईंले अगाडि खाेप लगाएका मान्छेहरूमा पनि याे भेरियन्टकाे इन्फेक्सन देखियाे भनेर भन्नुभयाे, के पहिले खाेप लगाएकाहरू पनि ढुक्क रहने अवस्था नभएकै हाे त ? 
मैले पनि यस्तो हल्ला सुनेको हुँ । तर, यो गलत हो । हामीले पहिला जसरी जनस्वास्थ्यका मापदण्डकाे पालना गरेका थियाैँ, त्यसलाई निरन्तरता दिनुपर्छ । यो बेला खोप लगाउने नलगाउनै सबैले स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ । जाँच नभएका कारण कम संक्रमित देखिएकोजस्तो खोप लगाएकाहरूलाई पनि संक्रमण हुनसक्ने र सिकिस्त नै हुने सम्भावना हुन्छ । यसपाली मृत्यु भएका केहीलाई खोप नलगा’को भन्ने कुराहरू आएका छन् । केही खोप लगाएका मानिसहरूको समेत मृत्यु भएको कारणले गर्दा खोप लगाउँदैमा म ढुक्क छु भनेर भन्न मिल्दैन । जसबाट हामी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र जाेगिने नै हाे भन्ने पाठ सिक्नुपर्छ ।

कोरोनाका विभिन्न लहर र भेरियन्टहरू झैल्दै आएको पनि २ वर्ष बढी भइसक्याे, तपाईंहरूले नै भनेअनुसार अब काेराेनामुक्त भइन्न भन्ने निष्कर्ष पनि छ । के अबकाे अवस्था भनेकाे काेराेनासँगै रहनुपर्ने अवस्था हाे ? 
हजुर यो कोरोना यतिकै सकिने अवस्थामा देखिएको छैन । विश्वको स्थिति हेर्दा पनि यो अहिलेनै अन्त्य होला भनेर भन्न सकिँदैन । किनभने यो हामीले देखेका छाैँ कि एउटा लहरको भेरियन्ट आउँछ, अनि त्यसपछि फेरि केही महिनामा अर्को भरियन्टको लहर आइहाल्ने अवस्था छ । त्यसो भएकाले कोरोनाका विभिन्न भेरियन्टको संक्रमण मानिसहरूमा भइरहने हुन्छ । अब एकपछि अर्का नयाँ भेरियन्ट देखिने भएकाले धेरै जना मानिसलाई संक्रमण भइरहने भएर नयाँ गुणहरू आइरहने गर्छ । अब फेरि-फेरि कोरोनाका नयाँ लहर आउने भएकाले यो क्रम बढ्दो नै छ । यसको निराकरणका लागि हामीले यस्तो खोप बनाउनुपर्‍याे कि जसले सबै कोरोनाका भेरियन्टलाई एकैपटक मास्ने काम गराेस्,  य अभ्यास र प्रयास पनि भइरहेकै छन् । तर, नतिजा आउन समय लाग्ला । त्यो भएमा मात्र हामी पटक-पटक लहर आउने सम्भावनाबाट जोगिन सक्ने स्थिति छ । भनेपछि यसको यायु लाम्रो छ । काेराेना कहिल्यै पनि साम्य हुँदैन ।

सबैखाले संक्रमणलाई निराकरण गर्न एउटै खालको खोप ल्याउने व्यवस्थ गर्ने सम्भव छ त ?
सम्भवचाहिँ छ तर, अब कहिले हुन्छ भन्ने कसैलाई थाहा छैन । त्यसकाे काेसिस पनि भइरहेकै छन् बाहिरी देशहरूमा । हामीले आशा मात्रै गर्न सक्छाैँ अहिलेचाहिँ । यदि यसाे भएकाे भए सबैका लागि राम्राे हुन्थ्याे ।

सार्वजनिक स्थानमा पनि नागरिकले सुरक्षाका मापदण्डको पालना नगरेको स्थिति छ । एक किसिमले भन्ने हाे भने आममानिसमा काेराेना गयाे भन्ने देखिन्छ, अब भने यस्ता मानिसहरूले कस्ताेखाले सावधानी अपनाउनुपर्ला ?
मैले पनि यस्तो देखेको छु । तर, यो गलत बुझाइ हो । सर्वप्रथम: नागरिक आफूले स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ । कोरोना गएको छैन भन्ने धारणा राख्न जरुरी छ । बन्द कोठामा धेरैजना बस्ने तथा भीडभाडमा जाने मान्छेहरूमा अहिलेको भेरियन्टले असर गरिरहेको छ । बाहिरका कुरा खाने, लक्षण शुरू भएमा जाँच नगर्ने; यी यावत् कारणका पछिल्लो समय समुदाय स्तरमा कोरोना बढेको सत्य हाे । तर हामी नागरिकले सजकता अपनाउन कञ्जुस्याइँ गर्न हुँदैन । टेस्ट गर्न जरुरी छ । यसाे गरियाे भने आफूलाई नै उपचार गर्न सहज हुन्छ । अक्सिजन कतिमा बस्ने भन्ने ज्ञान हुन्छ । तपाईंले टेस्ट नै गर्नुभएन भने धेरै गाह्रो हुन्छ र यस्ता कारणले पनि धेरै घटना भइरहेका छन् । हामीले जनस्वास्थ्यकाे मापदण्डको पूर्ण पालना गर्नुपर्छ । यसमा लागि सरकारी तवरबाटै पनि अनुगमन हुन जरुरी छ ।

पछिल्लाे भेरियन्टबारे सरकारकाे सतर्कता कस्ताे देख्नुहुन्छ ? यसमा सरकारी कमजाेरीहरूपनि छन् ?
पछिल्लो समय सरकारले अनुगमन ठ्यापै पारेको छ । खासै अनुगमन गरेको देखिँदैन । सरकारले सूचना पनि ढिलो प्रकाशन गर्ने, मान्छेहरूमा त्यसकारण विश्वासनीयतामा कमी आएकाे छ । सूचनामा ढिलासुस्ती हुनाले पनि जनताले सिरियस लिएकाे देखिँदैन । अहिलेत विज्ञप्तिका लागि विज्ञप्ति निकालेजस्तो मात्र हो की भन्ने नागरिकको बुझाइ छ । सरकारमा बसेका अधिकारीहरूले पनि आफैँ मास्क नलगाइ फोटो खिच्ने, मान्छे भेट्ने गरेको देखिन्छ । यसकारण सरकार आफैँले बनाएको नियम पालना नगरेको देखिन्छ । सामूहिकरूपमा हिँड्दा मास्क नलगाइ हिँड्ने गरेको स्पष्ट देखिएका कारण आफ्नै नियमले आफैँलाई गिज्याएकोजस्तो छ । यस्तो कुराले सही सन्देश दिएको छैन । यसरी भनाैँ न— सरकारकाे आफ्नै नीति नियममा थुप्रै ठाउँ प्रश्न गर्न सकिने अवस्थाहरूकाे सिर्जना गरेकाे छ ।

खाेप लगाउँदिनँ भन्दा त्याे मान्छे कति सुरक्षित हुन्छ ? अथवा अब खोप नलगाएकाहरूले के गर्नु पर्ला ?
खोप त अब अनिवार्य नै हो, सबैले लगाउनुपर्छ । खोप लगाएकाहरूमा पनि संक्रमण देखिएकाले सावाधानी भने अपनाउनुपर्ने नै हुन्छ । पहिलो खोपको डोज लगाइसकेकाले भरसक समयमै दोस्रो डोज लगाउन उपयुक्त हुन्छ । यदि समयमै लगाउन पाइएन भने यसले असर खासै नदेखिए पनि खोपबाट जति फाइदा पाउनुपर्ने हुन्छ, त्यसको प्रतिशतमा भने गिरावट आउन सक्छ ।  अब खाेप नलगाएकाहरूले पनि खाेपलगाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *