साउन मसान्तसम्म ११ कक्षाको भर्ना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यालयहरूले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ । परीक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसइईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट वञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो ।

‘कक्षा–११ को विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सूचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ, ‘यस सम्बन्धमा सम्बन्धित विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा –कक्षा (१०)को नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सबै विद्यालय/क्याम्पसलाई सूचित गरिन्छ ।’

स्थानीय पालिकाहरूले सो बारेमा सहजीकरण गर्न पनि परीक्षा बोर्डले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *