शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समीक्षा गोष्ठी सकियो, जनप्रतिनिधि उत्साहित

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाद्वारा आयोजित समीक्षा गोष्ठी सम्पन्न भएको छ । सोमबारदेखि काठमाडौंमा जारी समीक्षा गोष्ठी मंगलबार सम्पन्न भएको हो ।
गोष्ठीको पहिलो दिन आयोजना सञ्चालित १२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतसँग हालसम्मको प्रगति विवरणबारे समीक्षा गरिएको थियो । दोस्रो दिन आयोजना सञ्चालित १७ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतसँग आयोजनाको कार्यान्वयनको अवस्था र चुनौतीका विषयमा समीक्षा भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना निर्देशक रवीन्द्र बोहराले आयोजना कार्यान्वयनका क्रममा आइपर्ने सबै खाले समस्या तथा चुनौती मिले सामना गर्न आफू तयार रहेको बताए । समीक्षा गोष्ठीले आयोजना कार्यान्वयनमा सकारात्मक प्रभाव पारेको बताउँदै आगामी दिनमा काममा थप तीव्रता आउने बताए ।
उनले मन्त्रालयसँग एसियाली विकास बैंक एडीबीसँग पनि वर्षौदेखि यस्ता आयोजनामा सहकार्य गरेको अनुभव रहेको बताउँदै शासकीय शहरी विकास तथा पूर्वाधार आयोजना सफल हुनेमा शंका नरहेको पनि उल्लेख गरे । 
कार्यक्रममा जनप्रतिनिधिले गोष्ठीबाट आफूहरूले महत्त्वपूर्ण कुराहरू सिकेको बताए । उनीहरूले जनप्रतिनिधि र स्थानीय तहको क्षमता वृद्धिका लागि यस्ता कार्यक्रम जारी राख्नुपर्ने बताए । साथै कार्यक्रममा उनीहरूले आयोजना सञ्चालन तथा सफल बनाउन आफूहरू प्रतिबद्ध रहेको समेत बताए । विश्व बैंकको रिण सहयोगमा विगत ३ वर्षदेखि नेपालका ३३ वटा नगरपालिकामा उक्त योजनाहरु सञ्चालनमा रहेका छन् ।

कोभिड महामारी पछिको आम जनताको रोजगारी तथा स्थानीय तहको समुन्नतिका लागि कार्यक्रम सञ्चालन भइरहेको आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए । कार्यक्रममा विश्व बैंक तथा शहरी विकास तथा भवन निर्माण विभाग र आयोजना सम्बद्ध अधिकारीहरूको उपस्थिति थियो ।








