हामी आफ्नो ग्रोथलाई देशकै ग्रोथसँग जोडेर अघि बढिरहेका छौँ : अक्षय गोल्यान (भिडिओ)

देशलाई अहिले स्वदेशी उत्पादन चाहिएको छ । संभव भएसम्मका वस्तु तथा सेवा देशभित्रै उत्पादन हुनुपर्छ । आन्तरिक आवश्यकता पूरा गरेर त्यस्ता उत्पादन निर्यात पनि गर्नुपर्छ । अनि मात्रै देशमा विदेशी मुद्रा पर्याप्त मात्रामा भित्रिन्छ । विदेशी मुद्राको सञ्चिति बढ्छ । व्यापार घाटा कम हुन्छ । देश आर्थिक रुपमा उँभो लाग्छ । दीगाे अर्थतन्त्रकाे विकास हुन्छ । र, समग्रमा देश विकासको पथमा अघि बढ्छ ।

हो, सायद यो पनि एउटा ध्येय थियो– झण्डै ६० वर्षअघि कपडा उद्योग स्थापना गरेर उत्पादन सुरु गरेका सोहनलाल गोल्यानको । उनले आफ्नो जीवन नै उत्पादन र रोजगारी सिर्जनामै लगाए ।

सोहनलालले उठान गरेको उत्पादनमूलक कपडा तथा धागो उद्योगको विरासतलाई उनका छोरा पवन गोल्यान र उनको पुस्ताले निकै मलजल गरे । गोल्यान घरानाको उद्योग व्यवसायलाई गोल्यान ग्रुपको छाताअन्तर्गत विस्तार गर्दै आजको वृहत स्वरुपमा पुर्याउन पवनको कम्ति ठूलो मेहनत छैन । पवनले नै गोल्यान ग्रुपलाई कपडाबाट कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, बीमा जस्ता अनेक क्षेत्रमा फैलाए । र, अझै फैलाउँदै छन् । अब त गोल्यान ग्रुपमा तेस्रो पुस्ताको नेतृत्वसमेत सफल देखिन थालेको छ ।

भिडिओ

झण्डै ७ वर्षअघि गोल्यान ग्रुपको व्यवसायिक विरासतलाई मलजल गर्न ग्रुपको पदीय जिम्मेवारीमा भित्रिएका थिए– अक्षय गोल्यान । पवनका छोरा अक्षयले गोल्यान ग्रुपको निर्देशकको रुपमा अहिले रिलायन्स स्पिनिङ मिल्स(धागो उद्योग), ऊर्जा र होटल (होटेल हायत प्लेस)को नेतृत्व गरिरहेका छन् । यी ३ क्षेत्रका उद्योगले मात्रै वार्षिक झण्डै १० अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् ।

‘रिलायन्स स्पिनिङ मिल्सले मात्रै गत आर्थिक वर्ष ७ अर्बको कारोबार गर्यो,’ उनी भन्छन्, ‘निर्यातमूलक भएकोले यो उद्योगबाट विदेशी मुद्रा देशमा भित्रिरहेको छ । होटेलले विदेशी पर्यटकलाई सेवा दिएर अनि ऊर्जा उद्योगले विद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सक्छन् । त्यसो हुँदा यी सबै उत्पादनमूलक उद्योग हुन् । यसले विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना दुबै सँगै अघि बढाउँछ ।’ यी उद्योगमा झण्डै साढे ४ हजार जनाले रोजगारी पाएको पनि उनले बताए ।
‘उद्योग व्यवसायमा हामी जति माथि जान्छौँ, उति नै बढी समाजलाई योगदान गर्न सक्छौँ,’ उनी भन्छन्, ‘हामीले आफ्नो ग्रोथलाई देशकै ग्रोथसँग जोडेर अघि बढिरहेका छौँ ।’

सरकारले देशको आवश्यकता अनुसार उत्पादनमूलक तथा निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्न नहुने उनकाे भनाइ छ । निर्यातमूलक उद्योगले पाएको भन्दा बढी सुविधा वा अनुदान आयात गर्ने व्यवसायिक कम्पनीले पायो भने देशका सबै उद्याेगी ट्रेडिङ बिजनेशमा लाग्ने छन् । यसले देश परनिर्भर बन्दै जाने र देश समृद्ध नहुने उनी बताउँछन् ।

हाल गोल्यान ग्रुपले झण्डै १५० मेगावातका जलविद्युत् तथा अन्य ऊर्जा आयोजनालाई विद्युत् खरिद बिक्री सम्झौता गर्ने चरणमा पुर्याएको छ । झण्डै ४ सय मेगावाटका अर्धजलाशययुक्त जलविद्युत् आयोजना(पीआरओआर)का आयोजना अघि बढाएको छ । ऊर्जा आयोजनाबाट विद्युत निर्यात गरी देशमा विदेशी मुद्रा भित्र्याउने ग्रुपकाे याेजना छ ।

‘हामी खास गरी उत्पादनमूलक तथा सेवामूलक ४ वटा वृहत् क्षेत्रमा अघि बढिरहेका छौँ,’ अक्षय भन्छन्, ‘निर्यातमूलक उद्योग, हस्पिटालिटी(होटेल, कन्स्ट्रक्सन, रियलस्टेट), ऊर्जा (जलविद्युत्, सौर्य विद्युत) र कृषि गरी ४ वृहत क्षेत्र मानेर कम्पनीले लगानी गरिरहेको छ ।’

सरकारले निर्यातमूलक उद्योगलाई ३ प्रतिशतको निर्यात अनुदान दिइरहेकोमा निर्यात नगर्ने उद्योगलाई समेत ८ प्रतिशत अनुदान दिएकोमा अक्षय आश्चर्यमा छन् ।

‘व्यापार घाटा घटाउन र निर्यात बढाउन त निर्यातमूलक उद्योगलाई बढी अनुदान दिनुपर्नेमा चालू बजेटले निर्यात नगर्ने उद्योग व्यवसायलाई बढी प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्यो,’ उनले भने, ‘नेपालबाट गोल्यान ग्रुपले मात्रै तयारी पोशाक तथा धागोलगायत वार्षिक झण्डै १० अर्बको निर्यात गरेको छ, देशको सबै कपाडा उद्योगले झण्डै २० अर्बको निर्यात गर्दै आएका छन् । यसमा निर्यात अनुदान बढाइदिए २० बाट ३० अर्ब र ३० बाट ४० अर्ब हुँदै निर्यात बढ्ने थियो । तर, त्यसो हुन सकेको देखिएन ।’

देशमा औद्योगिक विकासमार्फत आर्थिक समृद्धि ल्याउनका लागि आर्थिक नीतिमा स्थिरता अनिवार्य शर्त भएको बताउँछन् अक्षय ।

‘सरकारले ल्याएको यो आर्थिक नीति तत्काल परिवर्तन हुँदैन भन्ने अनुमान उद्योगी व्यवसायीले गर्न सक्ने अवस्थाको सिर्जना हुनुपर्छ,’ उनले भने, ‘छिटोछिटो नीति परिवर्तन हुने कारणले व्यवसायीले दीर्घकालिन लगानीको योजना बनाउन सक्दैनन् ।’

नेपालमा अहिले सरकारी क्षेत्र र निजी क्षेत्रसमेत सिकाइको क्रममै रहेकोले केही वर्षपछि आर्थिक नीतिमा परिपक्व हुँदै जानेमा उनी आशावादी देखिन्छ ।

चार मुख्य क्षेत्रका झण्डै १६ उद्योग व्यवसाय सञ्चालन गर्दै आएको ग्रुपले अहिले झण्डै ५ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । यसलाई अझ विस्तार गर्दै लाने योजनामा छन् ग्रुप निर्देशक अक्षय ।

‘हामी ग्रुप हौँ,’ उनी भन्छन्, ‘एक्लो प्रयास काफी हुँदैन, सफलताका लागि सबैको महत्वपूर्ण हुनेछ ।’

प्रतिक्रिया

One thought on “हामी आफ्नो ग्रोथलाई देशकै ग्रोथसँग जोडेर अघि बढिरहेका छौँ : अक्षय गोल्यान (भिडिओ)

  1. ##Awareness Graph##
    Still on line wORDS
    KEEP ALWAYS 🙂🙂🧬 WITH
    TEAMS INDIVIDUAL BORNING SEEDS
    WHOLE PLANTS MUST E SURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *