पोखराले भगिनी सम्बन्ध गाँसिएका सहरको थिम पार्क बनाउने, युविन र कुनमिङसँग छलफल

पोखरा । पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना भएका विभिन्न सहरहरूको थिम पार्क निर्माण गर्ने भएको छ । चीनका युविन र कुनमिङबाट आएका प्रतिनिधिसँग छलफल गर्दै पोखरा महानगरले यस्तो प्रस्ताव गरेको हो ।

पोखराले हालसम्म कुन्मिङ र युविनसँगै, ग्वाङझाओ, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ ।

त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुकगु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

नेपालभित्रै भरतपुर महानगर र धरान उपमहानगरसँग पनि पोखराले भगिनी सम्बन्ध गाँसेको छ । सबै सहरहरूको विम्ब पार्क पोखरामा बनाउन मेयर धनराज आचार्यले प्रस्ताव गरेका हुन् ।

नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औँ वर्षका अवसरमा चिनियाँ टोलीले आचार्यलाई भेटेर भविष्यमा हुने सहकार्यका विषयमा छलफल गरेका थिए ।

लिङचेन हु नेतृत्वको ५ सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको मेयर आचार्यले बताए ।

थिम पार्क बनाएपछि विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । यसका लागि चिनियाँ टोलीले पनि अध्ययन गरिरहेको बताइएको छ ।

यसैबिच, चिनियाँ प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने उनीहरूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =