नारायणगढ-मुग्लिन हुँदै जाने सवारीसाधन नवलपुरमै रोकियो

नवलपुर । पहिराका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को सडक रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको बताए । ‘नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर-२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारीसाधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ-मुग्लिन हुँदै चल्ने सवारीसाधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौँ ।’
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ-मुग्लिन सडक हुँदै चल्नेबाहेकका सवारीसाधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए । आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । -रासस








