एकै परिवारका चारजना मृत फेला : घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको टोली पुग्यो

काठमाडौँ । काभ्रेस्थलीस्थित ४ जना मृत भेटिएको घटनामा हाल प्रहरीले अनुसंधान गरिरहेको छ । तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ ।

घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। घटनास्थलमा त्रि.वि शिक्षण अस्पतालबाट डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिएर अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार घटनास्थलबाट केही पानाको सुसाइड नोट पनि फेला परेको छ। ‘केही पानाको नोट फेला परेको छ,’ उनले भने।

उनीहरूको शव विभत्स अवस्थामा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा तीन जनाको हत्यापछि आत्महत्या गरेको देखिएको स्रोतको भनाइ छ।घटनास्थलमा एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको हो भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ । बच्चालाई स्कुल बस लिन आएपछि घटनाबारे थाहा भएको हो। आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर कृष्णहरि महर्जनले बताए।

‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =