नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताएका छन् ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले हालै गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्रले राम्रो प्रगति गरेको बताए ।

उनले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौं भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए । मन्त्री श्रेष्ठले भने, ‘इयूको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसका लागि हामीले उच्च प्राथमिकतासहित काम अगाडि बढाउनुपर्छ । आइकाओको अडिटबाट हामीले जुन पोजिशन पाएका छौँँ, अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ । मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो ।’

उनले इशाका तर्फबाट अनसाइट अडिट भइसकेपछि नेपाल सुरक्षा सूचीबाट हट्ने र नेपालले युरोपमा उडान गर्नसक्ने अवस्था आउने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरिने बताउँदै विमानस्थलमा एयरलाइन्सलाई आकर्षण गर्न र विभिन्न छुट तथा सुविधाहरु दिइने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको अडिटले नेपालको उडान सुरक्षादर विश्वस्तरभन्दा माथि रहेकाले इयूले उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको भन्दै छिट्टै नेपाल युरोपका आकाशका लागि खुला हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *