काँडा-जयवागेश्वरीको सञ्चार समस्या समाधानका लागि मन्त्रीलाई पत्र

काठमाडौँ । बाजुराको खप्तडछेडेदह गाउँपालिका वडा नबर १ र २ को टेलिफोन नलाग्ने समस्या समाधानका लागि सञ्चारमन्त्रीलाई आग्रह गरिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

गाउँपालिकाका तर्फबाट जारी गरिएको पत्रसहित वडा अध्यक्ष रावलले मन्त्री कार्कीलाई भेटेर काँडा र जयवागेश्वरीमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन माग गरेका छन् । यी दुर्गम क्षेत्रमा नेपाल टेलिकमको टावर नहुँदा यहाँका स्थानीयले सञ्चार सेवा सहज पहुँच पाउन सकेका छैनन् । काँडा-जयवागेश्वरीका स्थानीयले फोन गर्नका लागि टाढा टावर आउने ठाउँमा जाने बाध्यता रहेको छ ।

नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगर्दा स्थानीयमा मात्र नभएर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि समस्या हुने गरेको छ । ‘यी दुई वडा पर्यटकका लागि प्रचुर सम्भावना भएका क्षेत्र हुन् तर, सञ्चारका असुविधाले पर्यटकलाई आकर्षित गर्न सकिएका छैन,’ वडा अध्यक्ष रावलले भने, ‘त्यसैले पनि हामीले माननीय सञ्चारमन्त्री ज्यू समक्ष टावर निर्माणको लागि माग गरेका छौँ, उहाँबाट सकारात्मक प्रतिक्रिया आएको छ ।’

वडा नम्बर १ काँडाका वडा अध्यक्ष रावलले यहाँ सञ्चारका सुविधा हुँदा स्थानीयसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताए । नजिकै सुदूरपश्चिमकै मुख्य पर्यटकियस्थल खप्तडसमेत रहेकोले यहाँ सञ्चार सुविधा अत्यावश्यक रहेको रावलको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *