फेवातालको बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च ढल्कियो

पोखरा । पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च दक्षिण ढल्किएको छ । भूकम्प र त्यसपछि नियमित मर्मत नहुँदा मन्दिर ढल्किएको हो ।

मन्दिर ढल्किएका कारण दर्शन गर्न जाने भक्तजनसमेत जोखिममा परेका छन् । ३ वर्षअघि नै मन्दिर ढल्किएको पत्ता लागेपनि मर्मत भएको छैन । २०७२ सालको भूकम्पले मन्दिरमा बढी क्षति पुगेको छ । ‘माथिल्लो भाग चर्किएको छ । जमिन पनि बलियो छैन,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले भने, ‘ढल्केको थाहा पाउने बित्तिकै सरोकारवाला निकायमा खबर पुर्‍याएका हौँ । तर काम अघि बढेन ।’

पुरातत्त्व विभागका दुई जना इन्जिनियरले नापजाँच गर्दा मन्दिर ढल्किएको अवस्थामा रहेको भेटिएको हो । ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभाग र गुठी संस्थानलाई आग्रह गरिरहेको कुँवरले बताए । मन्दिर ढल्किएपनि दैनिक पूजाआजा भने चलिरहेको छ । मन्दिर पुनर्निर्माणका लागि करिब १ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

भुईँ तला सहित यो मन्दिर ३ तलाको छ । मन्दिरका टुँडालहरू समेत जीर्ण बनेको बताइएको छ । नेपालका प्रथम शाह वंशीय राजा कुलमण्डन खानले स्थापना गरेको मन्दिर बगाएर फेवातालमा पुर्‍याएको र त्यहीँ उक्त मन्दिरलाई स्थापित गराइएको किम्बदन्ती छ । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा मन्दिर पुनः निर्माण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *