पक्की घर पाएपछि हुरुक्कै लोपोन्मुख राजी परिवार, नमूनाबस्ती बनाउने लक्ष्य

धनगढी । कैलालीको भजनी नगरपालिका- ९ भुरुवाका सर्जु बादीलाई गत वर्षसम्म बर्खाको समयमा कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जंगल नजिकैको सडक छेउमा खरले छाएका झुपडीमा बर्खाको समयमा पानी चुहिनेदेखि, सर्पको डरसँग जुझ्दै आएका उनलाई अब केही राहत भएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत सुरक्षित आवास निर्माण गरिदिएपछि उनीसहित २५ बादी परिवारलाई राहत भएको छ । ‘पहिले झुपडीमा बस्दा पानी परेपछि रातभर सुत्न सकिँदैन थियो भने सर्पको डर पनि हुन्थ्यो,’ सर्जले भने, ‘अब शौचालयसहित पक्की घर पाएका छौं । ढुक्कसँग सुत्न सकिने भयो ।’
घर पाएका उनीहरूलाई अब जग्गा पनि भइदिएको भए हुन्थ्यो भन्ने लागेको छ ।’अब पक्की घरमा बस्न पाइने भयो खु्शी लागेको छ,’ सुनिता राजीले भनिन्, ‘अब आफू बसेको जग्गा पनि नाममा आइदिएको भए सरकार भएको महसुस गथ्र्यौं ।’ प्रदेश सरकारले घर बनाइदिएपछि उनीहरूसहित २५ राजी परिवार लाभान्वित भएका छन् ।

मन्त्रालयले आइतबार मात्रै निर्माण गरेका सुरक्षित आवास बादी समुदायलाई हस्तान्तरण गरेको छ । मन्त्रालयले ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको प्राविधिक तथा सामाजिक सहयोगमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरेको हो । करिब सात सय बढी परिवारको बसोबास रहेको सो राजी बस्तीबाट विपन्न परिवारलाई मुख्य प्राथमिकतामा राखेर घर निर्माण गरिएको हो ।

आइतबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले निर्माण भएका घर राजी परिवारलाई हस्तान्तरण गरिन् । मन्त्री चौधरीका अनुसार राजी समुदायको नमूना बस्ती निर्माण गर्ने लक्ष्यसहित सुरुवातमा २५ वटा सुरक्षित आवास निर्माण गरिएको हो ।

‘राजी बस्तीलाई कम्तीमा एक नमूना बस्ती बनाउने लक्ष्यसहित सुरुवातमा सुरक्षित आवास निर्माण गरेका छौं,’ उनले भनिन्, ‘यहाँ क्रमशः शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको पनि राम्रो बन्दोबस्त गरिनेछ । यसका लागि प्रदेश सरकारले दीर्घकालीन लक्ष्य लिएको छ ।’ मन्त्री चौधरीले भूमिहीनसमेत रहेका राजी समुदायलाई जग्गाको लालपुर्जा दिनुका साथै आयआर्जनमूलक कार्यक्रम पनि ल्याइने जानकारी दिइन् ।
राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले राजी समुदायलाई जग्गा उपलब्ध गराउनका लागि नापीको काम पनि लगत्तै सुरु गरिने बताए । उनले अहिले घरबासका लागि एक कट्टा जमिनको पुर्जा दिइने जानकारी दिए ।

आवास निर्माणमा प्राविधिक तथा सामाजिक सहयोग गरेको ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका वरिष्ठ कार्यक्रम सञ्चालन व्यवस्थापक रामप्रकाश सिंह दनुवारले सुरक्षित घर पाइसकेपछि अब त्यसको संरक्षण गर्नुपर्ने स्वयम घरधनीको रहने बताए ।

उनले घरहरू भूकम्प प्रतिरोधी बनेको उनले बताए । राजी बस्तीमा एक करोड १६ हजार रुपैयाँको लागतमा शौचालयसहित दुई कोठे पक्की भवन बनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले राजी बस्तीमा सुरक्षित आवास निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा बजेट विनियोजन गरेको थियो । कोरोना महामारीलगायतका कारण बस्ती निर्माणमा भने केही समय ढिलाइ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *