सम्बन्धविच्छेदको सहमति भएपछि हत्या, बालिकाले गुमाइन् बाबुआमा

चितवन । भरतपुर–१० निवासी रुष्मा आचार्य घिमिरेले श्रीमान् कृष्णप्रसाद आचार्यले आफूमाथि गलत आरोप लगाउँदै पटकपटक कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिइन् ।

उनको उजुरीलाई आधार मान्दै गत असार २ गते प्रहरीले घरेलु हिंसाअन्तर्गत मुद्दा दर्ताको काम सक्यो । प्रहरीले श्रीमान् कृष्णप्रसादलाई घरेलु हिंसामा मुद्दा दर्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय झिकायो । उनीसँगै श्रीमती रुष्मालाई पनि प्रहरीले कार्यालय बोलायो ।

दुवै जना सँगसँगै बस्न नसक्ने निष्कर्षमा पुगे । प्रहरीले दुवैलाई मिलाउने प्रयास त गरेका थियो, तर उनीहरू दुवैजना सँगै बस्न नसक्ने अवस्थामा पुगे ।

४३ वर्षीय कृष्णप्रसाद र ३५ वर्षकी रुष्माबिच सम्बन्धविच्छेद गरेर बस्ने भएपछि प्रहरीले दुवैलाई सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाउन भन्यो । सम्बन्धविच्छेद गरेर अलगअलग बस्ने सहमति गराएर प्रहरीले दुवैलाई घर पठायो ।

उनीहरूबिच सम्बन्धविच्छेदको प्रक्रिया अघि बढ्दै थियो । सम्बन्धविच्छेद नै गर्ने भएपछि उनीहरू दुवै घरमा अलगअलग बस्न थाले । उनीहरूको भरतपुर १० स्थित रमाइलो चोकमा ३ तलाको घर थियो । एकै घरमा उनीहरू अलगअलग बस्न थाले ।

भुइँतलाका कोठाहरू भाडामा लगाइएको थियो । दोस्रो तलामा रुष्मा र उनीहरूको १२ वर्षकी छोरी बस्थिन् । तेस्रो तलामा कृष्णप्रसाद आचार्य आफ्नो आमासँग बस्दै आएका थिए । लामो समय कतार बसेर भर्खर घर फर्केका थिए कृष्णप्रसाद । ३५ वर्षकी रुष्मा सरकारी स्कुलको शिक्षक थिइन् ।

आइतबार राति १०ः२५ बजे दोस्रो तलाबाट छोरी चिच्याउन थालेपछि तल भाडामा बस्ने र वरपरका छिमेकी जम्मा भए । त्यतिबेला रुष्मा कोठामै रगताम्य भएर लडिरहेकी थिइन् ।
श्रीमान् कृष्णप्रसादले रुष्मालाई खुकुरी प्रहार गरेछन् । उनी पनि खुकुरी प्रहार गरी भाग्ने क्रममा तीन तलाबाट खसेछन् । दुवै घाइतेलाई छिमेकी, आफन्त तथा प्रहरीले उपचारको लागि अस्पताल लग्यो ।

रुष्मालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो । उपचारको क्रममा अस्पतालले राति १०ः४० बजे रुष्मालाई मृत घोषणा गरेको थियो । तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारलगत्तै तेस्रो तलाबाट हाम फाल्दा सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेका कृष्णप्रसादलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । अस्पतालले उनलाई पनि राति ११ बजे मृत घोषणा गरेको थियो ।

कृष्णप्रसाद भाग्ने क्रममा तीन तलाबाट खसे वा श्रीमतीलाई खुकुरी प्रहार गरी आत्महत्या गर्नलाई तीन तलाबाट हाम्फाले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

के थियो घटना ?

लामो समय विदेश बसेर कृष्णप्रसाद एक महिना अघिमात्रै घर फर्केका थिए । उनी कतारमा रोजगारी गर्थे । श्रीमती रुष्मा आचार्य घिमिरे राष्ट्रिय मावि तोरीखेतमा पढाउने काम गर्थिन् । कृष्णप्रसाद विदेशबाट आएदेखि नै घरमा झगडा भइरहेको छिमेकीहरू बताउँछन् ।

शिक्षण पेसा अँगाल्दै आएकी आएकी रुष्माले सामाजिक सञ्जालमा घरायसी विवादले घरमा झैझगडा भइरहेको कुरा लेख्दै आएकी थिइन् ।

सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनीहरू आइतबार नै यो संसारबाट बिदा भए । उनीहरूको एक छोरीले बुबाआमा नै गुमाइन् । यतिबेला उनी विक्षिप्त अवस्थामा रहेकी छन् ।

प्रहरी प्रवक्ता तथा डिएसपी अधिकारीका अनुसार प्रारम्भिक विवरणअनुसार घटनाको प्रकृति हेर्दा कृष्णप्रसादले श्रीमतीको हत्या गरी आत्महत्या गरेको देखिएको छ, तर थप अनुसन्धान भइरहेको छ । दुवै जनाको शव भरतपुर अस्पतालमा राखिएको छ ।

रुष्माको माइती पूर्वी चितवनको रत्ननगर–१६, पिठुवामा पर्छ । उनी द्वारिकादास माविका निवर्तमान प्रधानाध्यापक नेत्र घिमिरेकी छोरी हुन् । रुष्माले बुबा विशेष कामले केही दिन व्यस्त भएका कारण सम्बन्धविच्छेदको मिति केही दिन पर सारिदिन प्रहरीलाई आग्रह गरेकी थिइन् । सम्बन्धविच्छेदको तयारी गर्दागर्दै दम्पती अलबिदा भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *