तीन जिल्लाका १६ उद्योगविरुद्ध मुद्दा दर्ता

विराटनगर । न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी बिक्री वितरण गर्ने १६ वटा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । एक वर्षको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ती उद्योगहरूका विरुद्ध मुद्दा दर्ता गरेको हो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै न्यून गुणस्तर उत्पादन गर्ने प्रदेश १ का तीन जिल्लाका १६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

उद्योगले उत्पादन गर्ने खाद्यवस्तुको नमुना संकलन गरी ल्याब परीक्षणबाट गुणस्तरहीन र न्यून गुणस्तरहीन पुष्टि भएपछि अदालत र प्रशासन कार्यालयमा अभियोग दायर गरिएको उनले बताए । न्यून गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी बिक्री वितरण गर्ने मोरङ, झापा र सुनसरीका १६ वटा उद्योगलाई मुद्दा लगाएको हो ।

आर्थिक वर्ष २०७८÷०७९ मा नमुना संकलन गरेकामध्ये सबैभन्दा धेरै न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योग मोरङमा भेटिएका छन् ।

मोरङका ९ उद्योगले उत्पादन गरेको खाद्यवस्तुको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा परीक्षण गर्दा न्यून गुणस्तरको खाद्य बस्तु भेटिएको रिपोर्ट आएपछि मुद्दा दर्ता भएको उनले बताए । झापाका पाँच र सुनसरीका दुई उद्योगविरुद्ध मुद्दा दर्ता भएको छ ।

यी उद्योग कारबाहीमा

विराटनगर –१४ मा रहेको बालाजी डेरी उद्योगले घ्यू न्यून गुणस्तरको उत्पादन गरेको पुष्टि भएपछि गत वर्षको भदौ २७ गते मोरङ अदालतमा ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर मुद्दा दायर गरेको छ ।

यस्तै विराटनगर ५ मा रहेको एक्वा एक्टिभ बेभरेजलाई ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर असोज ६ गते अभियोग दायर गरेको कार्यालय प्रमुख रिजालले बताए ।

विराटनगरकै सेन्ट्रल फुड एन्ड खाद्यान्न प्याकेजिङ्गले उत्पादन गर्ने पोस्ता दाना न्यून गुणस्तरको भेटिएपछि फागुन २५ गते मुद्दा दर्ता भएको छ । नेपाल बेलहोप एग्रिटेक प्रालिले उत्पादन गर्ने कुखुराको दाना दूषित पाइएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको प्रमुख रिजालले बताए ।

विराटनगरको खेतान चिया उद्योगले उत्पादन गर्ने सिटिसी चिया न्यून गुणस्तरको भेटिएको पनि कार्यालयले जनाएको छ । सो उद्योग विरुद्ध जेठ ९ गते अदालतमा मुद्दा दायर गरेको छ कार्यालयले गृहलक्ष्मी फुड इण्डष्टिजले सोया चड्क्समा लेबल नभएको पाइएपछि प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । झापाको दमक ९ मा रहेको पञ्चकन्या फुड, बिर्तामोड ७ मा रहेको सोरुप फ्रेस नुडल्स, हिमालय फुड एन्ड स्नायक्स उद्योग, बुट्टाबारी टी प्रालि र नेपाल चिया विकास निगम लिमिटेडले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तरको भेटिएपछि मुद्दा दायर गरेको छ ।

यस्तै सुनसरीको राम धुनी ५ मा रहेको कोसी फिड प्रालि र इटहरी १३ मा रहेको पूर्वाञ्चल एग्रीटेक प्रालिले उत्पादन गरेको दाना दूषित भेटिएको कार्यालयले जनाएको छ ।

मुद्दा दायर गरेका मध्ये मोरङ विराटनगरको विराट गोल्छाले उत्पादन गर्ने घ्यू न्यून स्तरको उत्पादन गरेको कसुरमा मोरङ अदालतले दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै गुणस्तरहीन उत्पादन बजारमा पठाउने दुई दर्जन बढी उद्योगलाई मुद्दा दर्ताको तयारी गरेको छ । न्यून गुणस्तरको र दूषित बस्तु उत्पादन गर्ने २५ वटा उद्योगविरुद्ध कसुर अनुसारको माग दाबी लिएर अभियोग लैजाने तयारीमा रहेको कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *