सरकारलाई किसानहरूको प्रश्न- सबै चिजको मूल्य बढ्दा गोलभेडाको किन नबढेको ?

घाटामा किसानहरू

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको २२ रोपनी जग्गामा करिब ३० लाख लगानी गरी टनेल बनाएर गोलभेडा खेती गर्छन् किसान औतार बस्नेत । औतार जत्ति गोलभेडा फलाउँछन्, त्यत्ति नै चिन्तामा पनि पर्छन् । आफूले उत्पादन गरेकाे गाेलभेडाले सही मूल्य नपाउँदा दुखी छन् । उनको प्रश्न छ— ‘सबै कुराको मूल्यवृद्धि हुँदा गोलभेडाको चाहिँ किन स्थिर ?’

नेपालमै उत्पादित यस्ता तरिकाजीजन्य वस्तुहरूको बजार भाउ नबढ्दा आफूजस्तै अन्य किसानहरू पनि मारमा पर्ने गरेको गुनासो औतारको छ । भन्छन्— ‘ब्रोइलरको मूल्य ३०० बाट ४५० पुग्छ । तर गोलभेडाको मूल्य त्यहीँको त्यहीँ हुन्छ, बढ्दैन । यसले मजस्तै अन्य किसानहरूलाई पनि मारमा परेको छ ।’

यसबारे सरकारले नै ध्यान दिनुपर्ने माग औतारको छ । उत्पादन र विक्री-वितरण राम्रो भएपनि मूल्य अनिश्चित र स्थिर हुँदा समस्या आफूहरूलाई परेको उनको भनाइ छ । ‘उत्पादन राम्रो हुन्छ । विक्री-वितरण पनि हुन्छ । तर बजार भाउ स्थिर रहँदा हामीले लगाएको परिश्रम पनि नउठ्ने अवस्था कहिलेकाहीँ आउँछ,’ उनले भनेका छन् ।

अर्की किसान सुशिला तामाङको पीडा पनि औतारको भन्दा फरक छैन । केही रोपनी जग्गा भाडामा लिएर गोलभेडासँगै अन्य तरकारीजन्य खेतीपाती गर्दै आएकी सुशिला भन्छिन्, ‘जग्गाभाडा व्यक्तिगतरूपमा तिर्नुपर्छ । त्यसमा पनि कहिलेकाहीँ त भाढा तिर्दै ठिक्क हुन्छ । अरु चिजको मूल्य बढ्ने तर हामीले बेच्नुपर्ने तरकारीको मूल्य स्थिर हुँदा हामीलाई घाटा हुने रहेछ ।’

यसलाई सरकारले ध्यान दिनुपर्ने भनाइ छ उनको पनि, थप्छिन्— ‘सरकारले चाह्यो भने गरिहाल्छ नि । तर बेवास्ता गरेजस्तो गर्छ । यसबारे हामीलाई प्रत्यक्ष घाटा पर्छ ।’

भक्तपुरमै ५ रोपनी जग्गामा ४ लाख लगानी गरी तरकारी विशेषत: गाेलभेडा खेती गर्छन् किसान चन्द्रमान तामाङ । चन्द्रमानको गुनासो पनि औतार र सुशिलाको भन्दा खास फरक छैन ।  ‘गोलभेडाको भाउ अनिश्चित छ । कहिले १०० त कहिले १५ पुग्छ । अरुलाई खान लगाउन पुग्छ भन्छन् । हामीलाई त त्यति पनि पुग्दैन । फेरि अवस्था यस्तो छ कि कृषि नभइ हुँदैन, गाह्रो पर्छ,’ चन्द्रमानकाे गुनासाे यस्ताे छ ।

लगानी डुब्ने डर भएको बताउँछन् चन्द्रमान, भन्छन्— ‘कहिलेकाहीँ त लगानीसमेत डुब्ने डर हुन्छ । यसलाई चाहिँ सरकारले ध्यान दिएको भए हामीलाई सहज हुन्थ्यो ।’

विपना सुनुवार, जो साढे ४ रोपनी जग्गामा गोलभेडासहितका तरकारी खेती गर्छिन् । गोलभेडा खेतीले जीवन धान्न हम्मे–हम्मे भएकाे उनकाे विलाप छ । त्यसले अपेक्षाकृत आम्दानी नहुँदा अप्ठ्याराे परेकाे बताउँछिन् उनी, भन्छन्— ‘जीवन धान्न भने पुग्छ । त्यसबाहेक केही पुग्दैन ।’

आफ्नो पीडा पोख्दै उनले भनेकी छन्, ‘कहाँ नाफा हुनु घाटा नै छ । गोलभेडाको भाउ यस्तै छ । कमाएको पैसा औषधि हाल्दै ठिक्क हुन्छ । अनि त कहाँबाट पैसा जम्मा हुनु ?’ उनी गुनासो पोख्दै भन्छिन्— सरकारले हामीलाई बेवास्ता गरेको छ ।

‘सरकारले गोलभेडाको मूल्य बढाओस्’

किसानहरू गोलभेडाको मूल्यलाई सरकारले नै निश्चित गर्नुपर्ने बताउँछन् । यसबेला कृषि पेशा अँगाल्नेहरू मारमा परिरहको उल्लेख गर्दै उनीहरूले भनेका छन्, ‘यसबारे सरकारले नै सोच्नुपर्‍याे । नभए कसले सोचिदिने र खै ?’

माथि उल्लिखित सबै किसानहरूको एक स्वर छ— सरकारले मूल्य तोकिदिनुपर्‍याे ।

उनीहरू गोलभेडा खेती गरेर जीवन चलाउनसमेत गाह्रो पर्ने बताउँछन् । जग्गा भाडामा लिएर ठूलो लगानीमा शुरू गरिएको खेतीको मूलधन डुब्ने त्रासमा किसानहरू छन् । उनीहरूले भनेका छन्, ‘अरु त ठिकै हो । गरिएको लगानीचाहिँ डुबेन भने भयो भन्ने भएको छ ।’

किसान विपना सुनुवार भन्छिन्, ‘सरकारले हाम्रो लागि गर्नुपर्‍याे । मूल्य बढाइदिनुपर्‍याे र हाम्रो माग/मुद्दालाई हेरिदिनुपर्‍याे । त्यसपछि मात्रै हामी सुरक्षित हुन्छौँ ।’ उनी थप्छिन्, ‘अहिले त हामी त करलागी पनि यही गर्नुपरेको छ । लगानी यसैमा भयो । छोड्छु भन्दा पनि सकिँदैन अब त ।’

त्यसो त अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषिलाई नाफामूलक बनाउन सरकारले भूमिका खेल्नैपर्छ । यो किसानहरू जान्दछन्, किसान औतार भन्छन्, ‘यो क्षेत्रलाई नाफामूलक नबनाइकन अबका पुस्ताले यो पेशा अँगाल्दैन र यसले ठूलोरूपमा देशलाई नोक्सान हुन्छ । त्यसैले यसलाई सरकारले नै बुझेर कदम चाल्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *