पोखरा महानगरले साढे ७ सय युवालाई स्वरोजगार बनाउने, ५ करोड छुट्याएर बैङ्कसँग सम्झौता

पोखरा । पोखरा महानगरपालिकाले नगरभित्रका ७ सय ५० युवालाई स्वरोजगार बनाउने भएको छ । नगरपालिकाले पहिलो चरणमा ५ करोड रुपैयाँ विनियोजन गरेर बैङ्कसँग पनि सम्झौता गरेको छ ।

त्यसमा युवा स्वरोजगार कोषले ५ करोड र मुक्तिनाथ विकास बैङ्कले थप ५ करोड लगानी गर्नेछ । स्वरोजगारका लागि कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौता गरिएको छ ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल र महानगरका मेयर धनराज आचार्यबीच सम्झौता भएको हो । उक्त कोषबाट युवालाई स्वरोजगार बनाउने कार्यक्रम निरन्तर सञ्चालन हुनेछन् ।

विशेषगरी कृषि क्षेत्रमा लगानी गरिने मेयर आचार्यले बताए । ‘आधुनिक कृषिको माध्यमबाट युवालाई रोजगारी दिने नै यसको उद्देश्य हो । एक हिसाबको सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा काम गर्न इच्छुक युवाबाट निवेदन लिएर कार्यक्रम अघि बढ्छ ।’ मेयर आचार्यले आफ्नो निर्वाचन घोषणापत्रमा पहिलो ६ महिनाभित्र ३ हजार युवालाई रोजगारी दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *