पाठ्यपुस्तक नपुग्दै परीक्षा सञ्चालन

सर्लाही । सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।

जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताए ।

उनका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरूमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइरहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरू पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरूले बताए ।

कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नवजन जागरण नमुना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोख्रेलले जानकारी दिए । उनका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन् ।

त्यस्तै निजी विद्यालयमा समेत पुरै पाठ्यपुस्तक आई नपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरूले बताएका छन् ।

जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले जनाएको छ ।

प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरू नआएको उक्त इकाइका निमित्त प्रमुख कुशवाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *