पोखराका मेयरको सम्पत्ति : ४१ करोडको घरजग्गा र शेयर, ५४ तोला सुन, ५ तोला हिरा

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग पोखरा ९ मा २ वटा घर रहेको देखाएका छन् । उक्त घर र जग्गाको मूल्य ९ करोड २५ लाख छ । ती घर र जग्गा उनकी श्रीमतीको नाममा छ ।
यस्तै, काठमाडौंको सितापाईलामा पनि उनको एउटा घर श्रीमतीको नाममा राखेका छन् । उक्त घर र जग्गाको मूल्य १ करोड ८५ लाख छ । पोखरा ११ मा ३ करोड ५० लाखको जग्गा छ । उक्त जग्गा उनी आफ्नै नाममा राखेका छन् । दोलखामा करिब ५९ रोपनी जग्गा आफ्नै नाममा छ । उक्त जग्गाको मूल्य ८७ लाख छ ।
उनीसँग हाल एउटा ओम्नी भ्यान, टोयोटा कम्पनीको गाडी, रिनाउल्टको गाडी, सुजुकी स्विफ्ट कार र ३ वटा स्कुटर छ । सबैको मूल्य २ करोडभन्दा बढी पर्ने उनले खुलाएका छन् । उनले १५ लाख रुपैयाँ नगद रकम भएको र २५ करोड ९९ लाख ४५ हजारको शेयर लगानी गरेको देखाएका छन् भने सबै गरेर ४३ करोड ६१ लाख ४५ हजार रुपैयाँको सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
विभिन्न बैंक र आफन्तबाट आचार्यले २ करोड ८५ लाख ऋण लिएको देखाए भने सबै ऋण कटाएर ४० करोड ७६ लाख रुपैयाँको सम्पत्ति रहेको उल्लेख गरे । यसबाहेक पनि उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी, ५ तोला हिरा छ । यसमा पैतृक सम्पत्ति नजोडिएको आचार्यले बताए ।









