ओमानमा ‘एक नेपाली, एक पर्यटक’ अभियान शुरु गरौँ : नेपाल चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ । काठमाडौँको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउन पहल गर्न नवनियुक्त राजदूत अर्यालसँग आग्रह गरेका हुन् ।

आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । यसका लागि नेपाली राजदूतावासले पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

ओमानसँग नेपालको कुटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आर्कषित गर्न नसकिएको अध्यक्ष मल्लले बताए ।
‘एसियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ,’ उनले भने, ‘त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी महामहिम राजदूतले भूमिका निर्वाह गरिदिनुपर्यो ।’

ओमानसँग नेपालको व्यापार घाटा उच्च रहेकाले पर्यटन र लगानी मार्फत व्यवसायिक सम्बन्ध विस्तारमा अध्यक्ष मल्लले जोड दिए ।

ओमानमा नेपाल हाउस खोल्नका लागि पहल गरिदिन पनि अध्यक्ष मल्लले आग्रह गरे । ओमानमा कार्यरत नेपालीलाई लक्षित गरी उनीहरुका लागि आवश्यक खाद्यान्न, लत्ता कपडा लगायत वस्तुहरु नेपालबाटै आपूर्ति गर्ने व्यवस्थासहितको नेपाल हाउस खोल्न सकिए आर्थिक गतिविधि बढ्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्ने अध्यक्ष मल्लको विश्वास छ ।

ओमानबाट मासिक २ अर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको भन्दै अध्यक्ष मल्लले नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए ।

जवाफमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । ओमानमा कार्यरत एक नेपाली बराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान शुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने नवनियुक्त राजदूत अर्यालको भनाइ छ । राजदूत अर्याल कार्यभार सम्हाल्न बिहीबार ओमान जाँदैछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *