पोखरा महानगरमा एकैवर्ष साढे २ करोडको खाजा खर्च, मेयर उपमेयरलाई दोहोरो यातायात सुविधा

पोखरा । पोखरा महानगरपालिकामा एकै वर्ष करिब साढे २ करोड रुपैयाँको खाजा, खाना र विविध खर्च भएको देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको हो । उक्त खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको भन्दै मलेपले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ ।

यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख राख्नुपर्नेमा अभिलेख विना चालू खर्च शीर्षकबाट अनुगमन, भ्रमण, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण आदि शीर्षकमा ४६ लाख ८४ हजार रुपैयाँ खर्च लेखेको छ ।

भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधनको टिकट समेत नराखेकोले भ्रमणको सदुपयोग भए नभएको पुष्टि नहुने मलेपको प्रतिवेदन छ ।

यता, मेयर र उपमेयरले दोहोरो यातायात सुविधा लिएको देखिएको छ । गण्डकी प्रदेशसभाले निर्माण गरेको स्थानीय तहका मेयर र उपमेयरले पाउने सुविधामा यातायात सुविधा उल्लेख छ । गाडी नभएको अवस्थामा १५ हजार रुपैयाँ दुवैले यातायात खर्च पाउँछन् । तर गाडी हुनेलाई उक्त सुविधा छैन । तर पोखराका मेयर र उपमेयरले महानगरको गाडी चढेर मासिक १५ हजार यातायात खर्च समेत बुझेका हुन् । महालेखाले दुवै जनासँग १ लाख ८० हजारका दरले ३ लाख ६० हजार असुल गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =